प्रेममा दरार आएपछि इन्स्पेक्टरको आत्महत्या, अर्का इन्स्पेक्टरविरुद्ध किटानी जाहेरी

Share this
750shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन १२, सोमबार १२:०६

काठमाडौं । सशस्त्र प्रहरी बलकी इन्स्पेक्टर (सशस्त्र प्रहरी निरीक्षक) सन्तोषी महतले प्रेम सम्बन्धमा दरार आएपछि आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

महत आइतबार ब्यारेकको महिला शौचालयनजिकको बिममा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । उनका परिवारले सशस्त्रकै अर्का इन्स्पेक्टरविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा आत्महत्या दुरुत्साहनमा जाहेरी दिएको छ ।

कास्की प्रहरी प्रमुख एसपी श्याामबाबु ओलियाले जाहेरी दर्ता भएको जानकारी दिए । अदालतबाट पक्राउ अनुमति लिएर थप अनुसन्धानको प्रक्रिया अघि बढाइने उनको भनाइ छ ।

महतको परिवारले १६ बेसिकका १ इन्स्पेक्टरविरुद्ध किटानी जाहेरी दिएको प्रहरीले जनाएको छ । परिवारका सदस्यका अनुसार महतको अर्का इन्स्पेक्टरसँग प्रेम सम्बन्ध थियो । उनकै कारण महतले आत्महत्या गरेको परिवारको दाबी छ ।

सशस्त्र प्रहरी बलले पनि घटनाको छानबिनका लागि डीएसपी लक्ष्मण सिंहको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति बनाएको छ । इन्स्पेक्टरको बेसिक तालिम गर्दै आएकी महत पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन ब्यारेकमा मृत भेटिएकी हुन् । सिन्धुपाल्चोक घर भएकी महत १७ बेसिक (२०८१) कि इन्स्पेक्टर रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

महत २०७२ सालमा सशस्त्रकै जवान (सिपाही)मा भर्ना भएकी थिइन् । २०७८ सालमा असईमा नाम निकालिन् । त्यसपछि अहिले २०८१ सालमा इन्स्पेक्टरमा नाम निकालेर तामिल लिइरहेकी थिइन् ।

पारिवारिक स्रोतका अनुसार महतको सशस्त्रकै १६ बेसिकका १ इन्स्पेक्टरसँग प्रेम सम्बन्ध थियो । दुई जनाबीच प्रेममा दरार उत्पन्न भएपछि महतले आत्महत्या गरेको दाबीसहित अर्का इन्स्पेक्टरलाई कारबाहीको माग राखेर परिवारले जाहेरी दिएको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.