
विराटनगर । महाशिवरात्रि पर्व आज (बुधबार) परेको छ । भगवान् शिवजी उत्पत्ति भएको दिनको रूपमा आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजाआराधना गरेर यो पर्व मनाउने प्रचलन छ ।
प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीमा यो पर्व मनाउने गरिन्छ । पर्वको अवसरमा देशभरका शिवालयहरु बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।
पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरूप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजाआराधना, दर्शन गरे यस लोकमा सुख, शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद्को भनाइ छ । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजाआराधना गर्छन् ।
यो पर्वलाई कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक ४ प्रमुख रात्रिमध्ये १ पवित्र पर्वका रूपमा लिने गरिन्छ । यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ।
माघ महिनामा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तत्त्वले गर्दा पत्रविहीन भइ जीर्ण भइरहेका रूख, बिरुवा तथा झार उनै महादेवको शिवत्व (जगत्को कल्याण गर्ने तत्त्व)ले गर्दा फागुनमा पलाउन थाल्ने हुनाले शिवरात्रि मनाउने गरिएको हो भन्ने मान्यता छ । व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भइ शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन्।
यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भइ यमलोक जानु नपर्ने धार्मिक विश्वास छ। भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा बालेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने चलन छ ।
पर्वको अवसरमा पशुपतिनाथमा ४ प्रहरमा ४ प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ । कैलाशकुट र किरातेश्वरका संगीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ।
महादेवको दर्शन गर्न र महाशिवरात्रि पर्वको मेला भर्न देशका विभिन्न स्थान तथा छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लाग्छ । जप, ध्यान, पूजा, अर्घ्यदान, पाठ, रुद्राभिषेक आदि गरी पशुपातिनाथमा प्रहर पूजा गरिन्छ।
प्राणप्रतिष्ठासहित स्थापना भएका देशभरका धेरै शिवालयमा आज बेलुकीदेखि विधिपूर्वक प्रहर पूजा गरिन्छ। यसबाट आशुतोष भगवान् शिव खुसी हुने धार्मिक विश्वास छ। रुद्रमती किनारस्थित चावहिल गंगाहिटीमा रहेको रुद्रेश्वर महादेव मन्दिर, गौरीघाटस्थित त्रिगजुर शिवालय, गोकर्णेश्वर महादेव मन्दिर, नागेश्वर, डोलेश्वरलगायत मन्दिरमा पनि प्रहर पूजा गर्ने परम्परा छ।
यसैबीच, पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनहरूको सुविधाका लागि यसवर्ष विशेष प्रबन्ध मिलाइएको छ । ७ वर्षअघिदेखि नै पशुपति क्षेत्रमा गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेध गरिएको छ।
यसवर्ष पनि त्यसलाई निरन्तरता दिइएको छ। यस्ता पदार्थ सेवन, बेचबिखन गर्नेलाई प्रहरीले कारबाहीको दायरामा ल्याउने छ । पशुपति क्षेत्रमा करिब ५ हजार सुरक्षाकर्मी खटाइएको छ।
महाशिवरात्रिका अवसरमा आज बिहान २ बजेदेखि नै पशुपतिनाथका ४ ढोका खोलिएको छ । महाशिवरात्रिका दिन यसवर्ष १० लाखभन्दा बढी दर्शनार्थीले पशुपतिमा दर्शन गर्नसक्ने गरी व्यवस्थापन गरिएको छ।
यसवर्षको महाशिवरात्रिमा मन्दिर परिसर साजसजावटमा विशेष ध्यान दिइएको छ। पशुपति क्षेत्र वरपर झिलीमिली बनाइएको छ। बेलुकी पशुपति क्षेत्र जाँदा आकर्षक हुनेगरी फूल र बत्तीले सजाइएको छ।
यसवर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि बाहिर ४ र भित्र ८ वटा लाइनको व्यवस्था गरिएको छ । सबै लाइनबाट छिटोभन्दा छिटो भक्तजनलाई दर्शन गराएर फिर्ता गराउने गरी तयारी गरिएको छ ।
महाशिवरात्रिमा पशुपतिनाथसँगै उपत्यकाका गोकर्णेश्र, डोलेश्वर, नागेश्वरलगायत शिव मन्दिरमा पनि भक्तजनको भिड लाग्छ। यसैगरी, मुलुकभरका शिव मन्दिरमा आशुतोष भगवान् शिवको धुमधामका साथ पूजा आराधना एवं दर्शनका लागि भक्तजनको भिड लागेको छ ।























