
विराटनगर । विराटनरमा हुन लागेको कोशी विचार उत्सवको तयारी पूरा भएको छ ।
आयोजक वीणा फाउन्डेसनले बुधबार पत्रकार सम्मेलन गरेर विराटनगरमा फागुन १५ (बिहीबार), १६ र १७ गते उत्सव हुने जानकारी दियो । फाउन्डेसनका संस्थापक वरुण झाले क्षेत्रीय, राष्ट्रिय र वैश्विक महत्त्वका मुद्दाहरूमा खुला संवाद र सहकार्य प्रवर्द्धन गर्न उत्सवको आयोजना गरिएको उल्लेख गरे । यसमा केन्द्रीय र प्रदेशस्तरीय राजनीतिक नेतृत्व तथा विज्ञको प्रस्तुति र सहभागिता रहने उनको भनाइ छ ।
उत्सवले कोशी प्रदेशको ऐतिहासिक महत्त्व र समकालीन आवश्यकता सम्बोधनमा सहज हुने अपेक्षा गरिएको छ । कांग्रेस नेता डा. शेखर कोइराला, कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्की, प्रतिनिधिसभाका सांसद प्रदीप ज्ञवाली, योगेश भट्टराई, सांसद मनिष झा, सुनिता बराल, शिशिर खनाल, निशा डाँगी, भगवती चौधरी, ज्ञानेन्द्र शाहीलगायत सहभागी हुने बताइएको छ । ‘राष्ट्रिय स्तरका विभिन्न विधाका विज्ञ सम्मिलित छलफल हुने छ,’ झाले भने, ‘प्यानल छलफलमा नेपालका चर्चित पत्रकारहरुको सहजीकरण रहने छ ।’
टीकाराम यात्री, ऋषि धमला, जीवराम भण्डारीलगायतले छलफललाई सहजीकरण गर्नेछन् । झाले भने, ‘नीति, संस्कृति, व्यवसाय व्यवस्थापन, शिक्षा, स्वास्थ्य, र वातावरणजस्ता विषयमा केन्द्रित मञ्चले विचारहरूको आदान–प्रदान र सामूहिक समाधानलाई प्राथमिकता दिने छ ।’ विचार उत्सवमा विभिन्न क्षेत्रका विद्वान्, बुद्धिजीवी र कलाकारहरूले सांस्कृतिक र सामाजिक विकासको क्षेत्र बारेमा महत्वपूर्ण छलफल गर्ने झाले सुनाए ।
विचार उत्सवबाट क्षेत्रीय संवादको दिगो मञ्चको स्थापना गर्दै सामाजिक, सांस्कृतिक, र आर्थिक विकासमा योगदान पुर्याउने लक्ष्य लिइएको छ । प्राकृतिक र सांस्कृतिक सम्पदाले उत्सवका लागि विशिष्ट पृष्ठभूमि प्रदान गर्ने संस्थापक झाको भनाइ छ । उनका अनुसार स्थानीय हिमालय रोडमा खुलाशत्रका रुपमा गरिने उत्सवमा नेपालका चर्चित कलाकारको दैनिक सांस्कृतिक तथा सांगीतिक प्रस्तुतिसमेत रहने छ ।























