
विराटनगर । विराटनगरमा मामाघरभित्रै मारिएकी १४ वर्षीया बालिका चाँदनी यादवको हत्यासँग सम्बन्धित मुद्दा अदालत पुगेको छ ।
प्रहरीले अनुसन्धान सकेर मिसिल (अनुसन्धान प्रतिवेदन) बुझाएसँगै सरकारी वकिल कार्यालय मोरङले अभियोग पत्र तयार पारेर ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको हो । जिल्ला अदालत मोरङमा दर्ता भएको मुद्दामा ६ जनालाई प्रतिवादी बनाइएको छ । अनुसन्धानबाट चाँदनीको हत्यामा आफ्नै अभिभावक र मावली परिवारका सदस्यको संलग्नता पुष्टि भएको छ ।
विराटनगर महानगरपालिका–५ विशालचोकको कलेर्वा टोलस्थित मावली घरभित्रै उनी मारिएको अनुसन्धानबाट यकिन भएको मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले बताए । उनका अनुसार घाँटी थिचेर माघ ११ गते दिउँसो हत्या गरेपछि राति मामाघरनजिकै खाल्डो खनेर शव व्यवस्थापन गरेको पत्ता लागेको छ । खाडोभित्रै सडेर दुर्गन्धित भइसकेको कपडासहितको शव प्रहरीले १८ गते उत्खनन गरी कोशी अस्पतालमा पोस्टमार्टमका लागि पठाएर कानुनी कारबाहीको प्रक्रिया बढायो ।

प्रेम सम्बन्धका कारण ज्यान गुमाएकी चाँदनीको घर भारतको छपरा जिल्ला हो । उनको हत्या आफ्नै आमा ३५ वर्षीया राजकुमारी राय यादव र मामा रामबाबु मण्डलले गरेको अनुसन्धानबाट पत्ता लागेको जिल्ला सरकारी वकिल कार्यालय मोरङका प्रमुख एवं जिल्ला न्यायाधिवक्ता नवराज पराजुलीले बताए ।
आमा र मामाविरुद्ध जिल्ला अदालत मोरङमा मंगलबार कर्तव्य ज्यान र ४ जनालाई मतियार बनाएर मुद्दा दर्ता गरिएको उनको भनाइ छ । अन्य ४ जनामा चाँदनीका मावली हजुरबुवा ५५ वर्षीय सुरयुग मण्डल, हजुरआमा (सरयुगकी पत्नी) ५४ वर्षीया बतासी मण्डल, माइजू जानकी, र चाँदनीका बुवा ४० वर्षीय लालमन राय यादव छन् ।
‘प्रहरीको अनुसन्धानबाट चाँदनीको हत्या सबैको सहमतिमा भएको पत्ता लाग्यो । हत्यामा प्रत्यक्ष चैं आमा र मामा मात्रै संलग्न रहेछन् । घाँटी थिचेर मारेछन्,’ पराजुलीले भने, ‘अरुले शव व्यवस्थापनमा सहयोग गरेर घटना लुकाउन भूमिका खेलेको पाइयो । कसुर अनुसारको मुद्दा दर्ता गरिएको छ । ‘पोस्टमार्टम रिपोर्ट’बाट पनि घाँटीमा दबाब परेर मृत्यु भएको प्रष्ट भयो ।’
अदालतले अभियुक्तसँग बिहीबारबाट बयान लिन सुरु गर्ने छ । बयान सकिएपछि वादी नेपाल सरकार र प्रतिवादीतर्फका कानुन व्यवसायीबीच थुनछेक बहस हुने छ । बहसपछि प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा राख्ने अर्थात धरौटीमा वा साधारण तारेखमा छाड्नेमध्ये एउटा आदेश अदालतले दिने छ ।
कसुर ठहर भयो भने मुख्य अभियुक्तलाई २५ वर्षसम्म र मतियारलाई त्यसको आधा सजाय हुने व्यवस्था छ ।
कसरी भयो घटना ?
एसपी चिमरियाका अनुसार चाँदनीको हत्या मामाघरकै एउटा कोठभित्र भएको पत्ता लाग्यो । शव व्यवस्थापन गरेपछि त्यो कोठालाई खाली छाडिएको उनको भनाइ छ ।

‘भरतको छपरा घर भएकी चाँदनीको करिब समान उमेर भएका भारतीय बालकसँग प्रेम सम्बन्ध रहेछ । केही समयअघि भागेर बिहे नै गरेछन् । बुवा आमाले छुटाए । फर्काएर ल्याएपछि उनीहरु पुसको पहिलो साता विराटनगरस्थित मावली घरमा चाँदनीलाई लिएर आए,’ जिल्ला न्यायाधिवक्ता पराजुलीले भने, ‘बुवा लालमन भारतस्थित घर फर्किए । आमा राजकुमारी छोरी चाँदनीलाई लिएर माइतीमै बसिन् । छोरीको हत्या गरेपछि शव व्यवस्थापन गरेकै भोलिपल्ट उनले पनि माइती घर छाडेको खुल्यो । प्रेम सम्बन्धमा रहेका किशोरबाट चाँदनीलाई अलग गराउने सम्भावना नदेखिएपछि हत्या गरेर शव गाडिदिए ।’
पराजुलीका अनुसार मावली घरमा बस्दा चाँदनीले प्रेमीसँग अरुकै मोबाइल प्रयोग गरेर बोल्ने गरेको थाहा भयो । ‘छुटाएर नेपाल ल्याए पनि दुवै जनाबीच सामाजिक सञ्जाल र फोनमार्फत नियमित कुराकानी भइरहेको परिवारमा थाहा भयो । सम्झाइबुझाइ गर्ने क्रममा चाँदनीले ती किशोरलाई छाड्न नसक्ने अडान लिइन् । मावलीबाट समेत भागेपछि बाटोबाट फर्काएर ल्याएको देखिन्छ । त्यसपछि रिस थाम्न नसकेर हत्या गरेको पत्ता लाग्यो,’ उनले भने ।
अनसन्धानबाट हत्यामा चाँदनीका बाबु लालमनको समेत सहमति देखिन्छ । उनले ससुरालीमा छाडेकी पत्नी घर पुगिन् । तर, छोरी चाँदनी गइनन् । चाँदनी एकाएक बेपत्ता भएको हल्ला मावली गाउँमा गाइँगुइँ चल्न थाल्यो । त्यो सूचना प्रहरीसम्म पुग्यो । प्रहरीले मामाघरदेखि १ सय २५ फिट दक्षिणमा केही दिनअघि खनिएको ४ फिट गहिरो खाल्डोभित्र शव भेट्यो ।

त्यसअघि चाँदनी बेपत्ता भएको जानकारी आउनसाथ प्रहरी पुग्दा हजुरबुवा सरयुग मण्डलले नातिनी आफ्नै घरतिर गइसकेको बताएका थिए । प्रहरीले भारतमा रहेका बाबुआमासँग सम्पर्क गर्दा छोरी मामाघरमै रहेको बताए । बारम्बार कुरा फेर्न थालेपछि खोजतलास गर्दा खाल्डोभित्र शव भेटियो । लालमन र राजकुमारीका २ छोरा र १ छोरी थिए ।

























