
विराटनगर । शेर्पा समुदायको ग्याल्पो ल्होसार आज (शुक्रबार) परेको छ । शेर्पा समुदायले विविध कार्यक्रम गरेर धुमधामका साथ यो पर्व मनाउने गरेको छ ।
प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन ग्याल्पो ल्होसार पर्ने गरेको छ । शेर्पा समुदायले नयाँ वर्षका रूपमा हर्षोल्लासपूर्ण तरिकाले यो पर्वलाई मनाउने गरेका छन् । शेर्पा समुदायले २१५२ औं ग्याल्पो ल्होसार मनाउन लागेका हुन् ।
मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको धार्मिक विश्वास छ । ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाइन्छ ।
ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउने प्रचलन सुरु भएको हो । समय क्रममा यसलाई ग्याल्पो ल्होसार नामकरण गरियो । यसलाई कसैले ग्याल्पो र कसैले ग्याल्बो उच्चारण गर्ने गरेका छन् । जे भए पनि यो शेर्पा समुदायको ठूलो पर्व हो ।
विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ । शेर्पा जातिको बसाइँसराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो ।
ग्याल्पो ल्होसारको अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । यसवर्ष पुस १५ मा गुरूङ समुदायको तमु र माघ शुक्ल प्रतिपदामा तामाङ समुदायको सोनाम ल्होसार परेको थियो ।























