चाडपर्वले सामाजिक सद्भाव र एकता कायम राख्छन् : राष्ट्रपति

Share this
721shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन १६, शुक्रबार ०७:१९

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न चाडपर्वले पारिवारिक एवं सामाजिक सद्भाव र एकता कायम राख्न मद्धत गर्ने बताएका छन् ।

ग्याल्पो ल्होसारजस्ता पर्वले सबै नेपालीबीच एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने उनको भनाइ छ । शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होसारका अवसरमा शुभकामना व्यक्त गर्दै पौडेलले यस पर्वबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरेका छन् ।

पर्वको अवसरमा उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्णमा सुख, शान्ति एवं समृद्धिको कामना गरेका छन् । नेपालको हिमालीलगायत विभिन्न क्षेत्रमा बसोबास गर्ने आदिवासी शेर्पालगायत महायान बौद्ध धर्मावलम्बी समुदायले फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्षका रूपमा विविध कार्यक्रम आयोजना गरी ग्याल्पो ल्होसार मनाउने चलन छ ।

पारिवारिक जमघट, आफन्त भेटघाट तथा गुथुक खाप्सेलगायत परिकार खाएर हर्षोल्लासका साथ मनाइने यस पर्वले शेर्पा जातिको पहिचान र विशेषतालाई झल्काउने राष्ट्रपति पौडेलले उल्लेख गरेका छन् । संस्कृति, परम्परा र मान्यतालाई अनुशरण गर्दै मनाइने ग्याल्पो ल्होसारलगायत चाडपर्वहरूले पारिवारिक माया, सामाजिक सद्भाव एवं एकता कायम राख्न योगदान पुर्‍याउँदै आएको उनको भनाइ छ ।

ग्याल्पो ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई अझ सदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माण गर्नका लागि अघि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना राष्ट्रपति पौडेलले गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.