
काठमाडौं । सिन्धुपाल्चोकमा भूकम्पले केही क्षतिको पुर्याएको र विवरण संकलन भइरहेको छ ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार भूकम्पबाट कहाँ कति क्षति भयो भन्ने यकिन नभएको र क्षतिको विवरण संकलन कार्य जारी रहेको जनाएको छ ।
हालसम्म प्राप्त विवरण अनुसार भूकम्पले हल्लाएपछि आत्तिएर भाग्दा सिन्धुपाल्चोक कारागारमा रहेका १ कैदीबन्दी घाइते भएको सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले जानकारी दिए । उनका अनुसार कैदीबन्दीको उपचार भइरहेको छ ।
त्यस्तै, इलाका प्रहरी कार्यालय गोदारीको भवन चर्किएको छ । सो कार्यालयमा बस्ने जवानहरू भने सुरक्षित रहेका छन् । भूकम्पका कारण भोटेकोसी गाउँपालिका–३ तुसारेस्थित दुगुनागढीमा सुख्खा पहिरो गएको छ । उक्त पहिरोमा मानवीय क्षति भने हुन नपाएको नेपालीले बताए ।
विपद्पछिको उद्धारलाई मध्यनजर गर्दै सुरक्षाकर्मीको टोली आवश्यकता अनुसार फिल्डमा खटिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार बिहान २ बजेर ५१ मिनेट जाँदा सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।
हाल भूकम्पको परकम्प जाने क्रम जारी छ । बिहान ७ बजेर ३५ मिनेट जाँदासम्म २३ वटा परकम्प गएको केन्द्रले जनाएको छ ।























