
काठमाडौं । अमेरिकाबाट चार्टर विमानमार्फत फर्काइएका नेपालीले आफूखुशी अमेरिका गएको भन्दै कसै विरुद्ध पनि उजुरी दिएका छैनन् ।
फर्काइएका ८ मध्ये केहीले आफूहरु १२ वटा देशका सीमा अवैध रुपमा पार गरेर अमेरिका पुगेको बताए । तर, पठाउने र लानेको विषयमा नखुलाएको मानव बेचबिखन अनुसन्धान ब्युरोका एक अनुसन्धान अधिकारीले जानकारी दिए ।
फर्काइएका सबैलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मानव बेचबिखन अनुसन्धान ब्युरो लगिएको थियो । त्यहाँ उनीहरूले सोधपुछका क्रममा यस्तो बताएका हुन् । ब्युरोका एक अनुसन्धान अधिकारीका अनुसार उनीहरूले ५० लाखदेखि १ करोडसम्म खर्च गरेर अमेरिका छिरेको बताएका थिए । प्रहरीका अनुसार फर्केकामध्ये रुकुम पूर्वका २ जना, रोल्पाका १ जना, दाङका ३ जना र डोटीका १ जना छन् ।
मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एसपी नरेन्द्र कुँवरका अनुसार उनीहरु बढीमा १० महिना र थोरैमा ५ महिना अमेरिका बसेका थिए । फर्केकाहरुमध्ये सबैजसो अध्यागन हिरासतबाट सोझै न्यू ह्याम्पसर राज्यको पोर्टसमाउथ अन्तर्राष्ट्रिय विमानस्थल पुर्याइएको थियो ।
अल्बानियाको तिराना अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँका केही नागरिकलाई ओरालेपछि उक्त विमान सोझै नेपाल आएको थियो । उनीहरुलाई अल्बानियासम्म हतकडी लगाइएको थियो ।

























