
विराटनगर । विराटनगर–३ पिपल चोकमा रहेको लक्ष्मीनारायण मन्दिरमा पञ्चकुण्डात्मक पाञ्चाह्रिक महायज्ञ हुने भएको छ ।
भारतको हैदराबादबाट श्री श्री श्री त्रिदण्डी श्रीमन्नारायण रामानुज चिन्न जियर स्वामीजीको विशेष आतिथ्यतामा यज्ञ हुन लागेको हो । बिहीबार मन्दिरमा आयोजित पत्रकार सम्मेलनमा चैत १ देखि ५ गतेसम्म यज्ञ हुन लागेको जानकारी दिइयो ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कुमार खतिवडाले जियर स्वामीको विशेष तत्त्वावधानमा कार्यक्रम हुन लागेको जानकारी दिए । यज्ञमा दैनिक ५ हजार भक्तजन उपस्थित रहने खतिवडाले बताए ।
यस्तै सामूहिक व्रतबन्धको कार्यक्रम समेत राखिएको छ । जसमा जति जना बटुक हुन्छन् सोही अनुरूप प्रत्येकको छुट्टै यज्ञादिको व्यवस्था गरिएको छ । सामूहिक व्रतबन्ध भनिए पनि बटुकहरुले आ–आफ्नो कर्म गराउन पाउने छन् ।
यस्तै, धार्मिक अभियन्ता तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले विराटनगरमा आउन लाग्नु भएका चिन्न जियर स्वामीको स्वागतमा हुने सबै काम सम्पन्न भएको बताए ।
विद्धान धार्मिक व्यक्तित्वको आगमनलाई विराटनगरले गौरवका रुपमा लिएको र कार्यक्रम सम्पन्न गराउन लागी परेको जानकारी दिए ।
यस्तै, मन्दिरका सल्लाहकार तथा धार्मिक गुरु स्वामी रामानुज नेपालले भागवत आराधना, प्रबन्ध पाठ हवन, प्रवचन तथा महाउत्सव हुने जानकारी दिए ।
चिन्न जियर स्वामीजीको विशेष आतिथ्यता हुने भएकाले यसमा संलग्न हुन धर्मानुरागीहरु विभिन्न जिल्लाबाट सहभागी रहने बताए ।
यज्ञ स्थलमा ५ दिन विभिन्न धार्मिक अनुष्ठानसहित अरणिमन्थन, अग्नि प्रतिष्ठा, भगवानका सेवा आराधना, वेद, इतिहास, पुराण, स्त्रोत्र आदि गरिने छ ।
पत्रकार सम्मेलनमा मन्दिरका महासचिव युवराज धिताल, धार्मिक अभियन्ता देवेन्द्र गुप्ता, लालमोहन ठाकुर, अनन्त पराजुली, रमेश आचार्यलगायतको सहभागिता रहेको थियो ।























