प्रधानमन्त्रीका पूर्वआर्थिक सल्लाहकारले नै तिरेनन् कर, १०१ वटा फर्म र कम्पनीका नाममा सार्वजनिक सूचना

Share this
734shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत ३, आइतबार १७:०६

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्वआर्थिक विशेष सल्लाहकार तथा नेकपा (एमाले)का नेता मोतीलाल दुगडले कर तिर्न आनाकानी गरिरहेको पाइएको छ ।

तर, बक्यौता नबुझाएर अटेर गरिरहेका उनले निर्वाध कारोबार भने गरिरहेका छन् । समयमा कर नबुझाएपछि आन्तरिक राजस्व कार्यालय विराटनगरले तत्काल कर बुझाउनलाई सार्वजनिक सूचना जारी गरेको छ । विराटनगरका उद्योगी दुगड पूर्वसांसद एवं पूर्वराज्यमन्त्रीसमेत हुन् ।

उनलाई केपी शर्मा ओलीले २०७७ सालमा विशेष आर्थिक सल्लाहकार नियुक्त गरेका थिए । ओलीको पछिल्लो कार्यकालमा दुगडले कुनै जिम्मेवारी पाएका छैनन् । आन्तरिक राजस्व कार्यालय विराटनगरले गत फागुन २० गते कर दाखिलाका लागि भन्दै १०१ व्यावसायिक फर्म र कम्पनीका नाममा १५ दिने सूचना जारी गरेको छ ।

जसमा दुगडको विराटनगर महानगरपालिका–१४ स्थित एसिया केमिकल कम्पनी प्रा.लि, विराटनगर–१७ स्थित एसियन केम प्रा.लि र विराटनगर–२ स्थित हैरिसन प्यालेस प्रा.लिको नाम समावेश छ । एसियन केमिकल कम्पनीले आयकार तिरेको छैन ।

हैरिसन प्यालेस र एसियन केम प्रा.लिले मूल्य अभिवृद्धि कर नतिरेको कार्यालयले जनाएको छ । आन्तरिक राजस्व कार्यालय विराटनगरका सूचना अधिकारी नवराज भट्टराईले सूचना प्रकाशित भएपछि प्यालेसले कर भने तिरेको जानकारी दिए । उनका अनुसार अन्य कम्पनीको २ वर्षदेखि कर दाखिला भएको छैन । बुझाउन बाँकी रहेको करको विवरण भने खुलाउन नमिल्ने उनले बताए ।

यता उद्योगी दुगडले कर तिर्न केही ढिलो हुँदा कार्यालयले सूचना निकालेको बताए । उनले आफ्नो ३ वटा नभइ २ वटाको मात्रै बक्यौता रहेको बताए । ‘ट्याक्सको पैसा हो । १–२ महिना मात्रै ढिलो भएको हो,’ उनले भने, ‘कहिले छिटो हुन्छ, कहिले ढिलो हुन्छ । २ वटा कम्पनी हो । एउटाको मिलिसक्यो, अर्काेको आधा गइसक्यो ।’

सामान्यतया ४ महिनामा भ्याट बिलको हिसाब बुझाउनु पर्छ । दुगडको कम्पनीले ३ वर्षदेखि बुझाएको थिएन ।

नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य अविनाश बोहराले पनि कर तिरेका छैनन् । उनको भूमि कन्ट्रक्सन प्रा.लिले २ वर्षदेखि मूल्य अभिवृद्धि कर र आयकर दाखिला नगरेको हो ।

भावेश बोहरा सञ्चालक रहेको भूमि इन्फास्टक्चरले ५ वर्षदेखि मूल्यअभिवृद्धि कर र आयकार बुझाएको छैन । भूमि कन्ट्रक्सन र भूमि इन्फास्टक्चर निर्माण क्षेत्रका कम्पनी हुन् । यी २ कम्पनीले ठेक्का लिएका आयोजनाहरु अधुरै छन् ।

आन्तरिक राजस्व कार्यालयले मोरङका नाम चलेका उद्योगी भोलेश्वर दुलाल, पवन राठी, सतिसकुमार दुगड, नवलकिशोर काबरा, सौरभ सरडालगायत १०१ उद्योग तथा फर्मको नाममा १५ दिने सूचना जारी गरेको हो । अभिलेखमा कर बक्यौता देखिएपछि बक्यौता रकम दाखिलाका लागि टेलिफोन र पत्राचारमार्फत कार्यालयले आग्रह गरेको थियो ।

अटेर गरेपछि कार्यालयले नामवली प्रकाशन गरेको हो । नामावली प्रकाशन भएपछि उद्योगी व्यवसायीले कर दाखिला गरिरहेका छन् । कार्यालयका सूचना अधिकारी भट्टराईका अनुसार २ वर्षभन्दा बढी समय कर चुक्ता नगरेकाहरुको नाममा सूचना जारी गरिएको हो ।

कार्यालय स्रोतका अनुसार करदाताबाट मूल्य अभिवृद्धि कर (भ्याट) र आयकरबापतको करोडौं रूपैयाँ राजस्व असुल गर्नुपर्ने देखिएको छ । यता सरकारले भने लक्ष्य अनुसार राजस्व संकलन गर्न सकिरहेको छैन ।

यी हुन् कर नतिरेर सार्वजनिक सूचना जारी भएकाहरु

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.