
विराटनगर । जनकपुर–ढल्केवर सडक खण्डमा आइतबार साँझ एम्बुलेन्सको ठक्करबाट १ जना अटो रिक्सा चालकको मृत्यु भएको छ ।
एम्बुलेन्सको ठक्करबाट अटो रिक्सा चालक लक्ष्मिनियाँ गाउँपालिका–७ का २४ वर्षीय अर्जुन यादवको घटना स्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।
प्रहरीका अनुसार रिक्सामा सवार लक्ष्मिनियाँ–७ कै २० वर्षीय शिवम साह र सतिश सदा घाइते भएका छन् । घाइतेहरुको रामजानकी मेडिकल कलेज रमदैयामा उपचार भइरहेको छ ।
बिरामी लिएर जनकपुर न्यूरो अस्पतालबाट काठमाडौं जाँदै गरेको स १ च १३९२ नम्बरको एम्बुलेन्सले लक्ष्मिनियाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ज १ स ३४८७ नम्बरको अटो रिक्सालाई रमदैया वाटर पार्क अगाडि ठक्कर दिएको थियो ।
एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिइएको छ । एम्बुलेन्समा रहेको बिरामीलाई अर्काे एम्बुलेन्सबाट काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।























