
जनकपुरधाम । धनुषामा प्रहरीले सोमबार दिउँसो गोली चलाएको छ । गोली लागेर १ जना घाइते भएका छन् ।
सबैला नगरपालिका–९ भठिहनस्थित चोकको नाम राख्ने विषयमा दुई समूहबीच उत्पन्न विवाद झडपमा परिणत भएपछि नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको हो । गोली लागेर सहिद नगरपालिका–१ का अन्दाजी १६ वर्षीय सन्तोषकुमार यादव घाइते भएको प्रहरीले जनाएको छ ।
यादवको मलद्वारमा गोली लागेको प्रहरी स्रोतले बतायो । उनको जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।
भठिहन चौकमा बोर्ड राख्ने विषयमा २ समुदाबीच केही समयदेखि विवाद हुँदै आएको छ । भठिहन चोकमा केहीदिन अघि यादव चोक लेखिएको बोर्ड लगाइएको थियो ।
उक्त अन्य समुदायले निकालिदिएपछि २ समूहबीच विवाद हुँदै आएको थियो । उक्त विवाद आइतबारबाट झन् बढेर अवस्था तनावपूर्ण बनेको प्रहरीको भनाइ छ ।























