
विराटनगर । स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन)को निर्वाचन लागेसँगै विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा सबैको नजर पर्ने गर्छ ।
किनभने महेन्द्र मोरङबाट विद्यार्थी राजनीति सुरु गरेर दर्जनौं नेता भइसकेका छन् । मुलुकको सर्वोच्च पदमा पुगिसकेका छन् । मुलुकका चर्चित नेता जन्माउने त्यही क्याम्पसमा मंगलबार स्ववियु निर्वाचन हुँदैछ । त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरुमा स्ववियु निर्वाचन मंगलबार हुन लागेको हो । केही क्याम्पसमा भने विवादका कारण चुनाव रोकिएको छ ।
महेन्द्र मोरङमा स्ववियुको नयाँ नेतृत्व चयनका लागि मतदान हुने तय भएको छ । नयाँ नेतृत्वका लागि १ स्वतन्त्रसहित ७ जनाले सभापतिमा उम्मेदवारी दिएका छन् । स्वतन्त्र उम्मेदवार योगराज दाहाल नेपाली कांग्रेसको भ्रातृसंगठन नेविसंघका केन्द्रीय सदस्य हुन् ।
पार्टीभित्रको इतर समूहका विद्यार्थी नेता दाहालले सभापतिमा उम्मेदवारी दिएका छन् । नेविसंघबाट दाहाल र प्रज्वल विष्टले उम्मेदवारी दिएका थिए । विष्टले आधिकारिता पाए ।
नेकपा (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियुबाट अनिष बोगटी अध्यक्षको उम्मेदवार छन् । नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल क्रान्तिकारीबाट रोहित यादव अध्यक्षको उम्मेदवार छन् । सभापतिमा विद्यार्थी जनमत संघबाट रुपेश सिंह, अखिल क्रान्तिकारी बहुमतबाट अनिषा राई, प्राज्ञिक विद्यार्थी परिषद्बाट विवश कटुवाल अध्यक्षको उम्मेदवार छन् ।
अध्यक्षमा ७ जनाले उम्मेदवारी दिए पनि मुख्य प्रतिस्पर्धा भने नेविसंघ, अखिल र अखिल क्रान्तिकारीबीच अनुमान गरिएको छ । यी ३ विद्यार्थी संगठनबाट उम्मेदवारी दिएकाहरुले अरुलाई प्रतिस्पर्धी ठानेकै छैनन् ।
नेविसंघभित्र विवाद भएका कारण अखिल र अखिल क्रन्तिकारी आफ्नो जित पक्का भएको दाबी गर्छन् । नेविसंघको संस्थापन पक्ष चुनाव जित्ने दाबी गर्छ । ‘विगतको भन्दा हाम्रो तयारी राम्रो छ,’ अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष अभिमन्यू यादव भन्छन्, ‘स्ववियुमा यसपाली हामीले जित्दैछौं ।’
एमालेको विद्यार्थी सगठन अनेरास्ववियुका केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज जोसेफ घिमिरे पनि निर्वाचन जित्ने दाबी गर्छन् । ‘तयारी राम्रै भइहरहेको छ । हामी चुनाव जित्छौं,’ उनले भने ।
नेविसंघ संस्थापन पक्षका नेता तथा वर्तमान स्ववियु सभापति जसवन्त पौडेल चुनाव जित्ने दाबी गर्छन् । ‘हाम्रो माहोल राम्रो छ । चुनाव जित्दैछौं । अर्काे पक्ष (दाहाल)ले खासै ठूलो असर गर्दैन । हामी जित निकाल्छौं,’ उनले भने ।
नेविसंघ इतर पक्षले भने निर्वाचन हुन नदिने चेतावनी दिँदै आएको छ । महेन्द्र्र मोरङमा २ हजार ८ सय ९० छात्रा र ३ हजार ९४ जना छात्र गरेर ५ हजार ९ सय ८४ जना मतदाता छन् ।
कहिले–कहिले भयो स्ववियु निर्वाचन ?
महेन्द्र मोरङ क्याम्पसमा २०३६ सालमा पहिलो पटक स्ववियु निर्वाचन भएको इतिहास छ । पहिलोपटक ध्रुवनारायण श्रेष्ठ स्ववियु सभापति भए । अहिले सक्रिय राजनीतिमा नरहेका उनी विद्यार्थी राजनीतिपछि विराटनगर उपमहानगरपालिकाको मेयरसमेत भएका थिए ।
२०३८ सालमा स्ववियु विजयकुमार गच्छदारको समूहले कब्जा गर्याे । महेन्द्र मोरङका पूर्वस्ववियु सभापति महेश रेग्मीका अनुसार २०३८ असोजमा भएको स्ववियु निर्वाचनमा सीताराम पोखरेलले जित्ने अवस्था थियो ।
तर, मध्यरातमा मतपत्र जलाएर जबरजस्ती गच्छदारलाई सभापति घोषणा गरियो । उनले काम गर्न भने पाएनन् । २०३८ साल मंसिरमा फणीन्द्र तिम्सिनाको हत्या भएको थियो । तिम्सिनाको हत्यापछि स्ववियुले काम गर्न पाएन ।
त्यसपछि २०४० मा भएको निर्वाचनबाट सभापतिमा भरतराज पोखरेल निर्वाचित भए । पोखरेलकै समितिको कोषाध्यक्ष थिइन्, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी । पोखरेल अहिले सक्रिय राजनीतिमा छैनन् ।
अहिले सक्रिय राजनीतिमा नभएका रमेश भट्टराईले २०४१ सालमा स्ववियु सभापति जितेका थिए । २०४३ को स्ववियु सभापतिमा भूराज राईले जिते । विराटनगरको पूर्वउपप्रधानपञ्च बनेका उनी पछिल्लो समय एमालेको राजनीति गर्छन् ।
२०४५ मा महेश रेग्मी निर्वाचित भए । उनले २०४९ सालसम्म सभापति चलाए । हाल रेग्मी नेकपा (एकीकृत समाजवादी) पार्टीको पोलिटब्युरो सदस्य छन् । २०४९ सालको निर्वाचनमा यदु विष्ट सभापतिमा निर्वाचित भए । उनी नेपाली कांग्रेसको राजनीति गर्छन् ।
२०५१ सालको स्ववियु निर्वाचनमा गुरुराज घिमिरे निर्वाचित भए । कांग्रेसका युवा नेता उनी अहिले सक्रिय राजनीतिमा छन् । २०५३ सालमा ऋषिकेश पोखरेल निर्वाचित भए । नेकपा (एमाले)का नेता उनी अहिले संघीय संसदको सार्वजनिक लेखा समितिका सभापति छन् ।
पछिल्लो समय राजनीतिमा सक्रिय नरहेका उपेन्द्र गच्छदार २०५५ सालमा स्ववियु सभापति निर्वाचित भए । २०५७ सालको निर्वाचनमा सागर थापाले सभापति जिते । उनी अहिले एमाले मोरङको उपाध्यक्ष छन् ।
२०६२ सालको स्ववियु निर्वाचनमा भीम पराजुली सभापति निर्वाचित भए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य पराजुली कोशी प्रदेशको प्रदेशसभा सदस्य एवं विराटनगर महानगरपालिकाका पूर्वमेयर हुन् ।
२०६५ सालको स्ववियु निर्वाचनमा जयराम सुन्दास निर्वाचित भए । अहिले विराटनगरमा ‘ल फर्म’ चलाएर वकालत पेसामा सक्रिय सुन्दास नेकपा (माओवादी केन्द्र)मा आबद्ध छन् ।
२०६५ पछि लामो समयसम्म महेन्द्र मोरङमा स्ववियु निर्वाचन भएन । १४ वर्षपछि २०७९ सालमा भएको निर्वाचनमा जसवन्त पौडेल विजयी भएका थिए ।
नेता उत्पादन गर्ने महेन्द्र मोरङ
महेन्द्र मोरङले जन्माएका नेतामध्ये देशको सर्वाेच्च पदमा पुग्ने पहिलो महिला हुन्, विद्यादेवी भण्डारी । विद्यार्थी राजनीतिमा सक्रिय भएसँगै महेन्द्र मोरङबाटै उनको राजनीति फस्टाएको थियो । २०१२ सालमा स्थापना भएको महेन्द्र मोरङ कुनै समय नेता उत्पादन गर्ने थलोको रूपमा परिचित थियो ।
महेन्द्र मोरङबाटै पूर्वप्रधानमन्त्री स्वर्गीय भरतमोहन अधिकारी, माधवकुमार नेपाल, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, कांग्रेस नेता विजयकुमार गच्छदार, महेश आचार्यलगायत राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने दर्जनौं नेता उत्पादन भए । गर्विलो इतिहास बोकेको महेन्द्र मोरङको पछिल्लो अवस्था भने खस्कदो छ ।
महेन्द्र मोरङको मात्रै होइन, समग्र विद्यार्थी राजनीति नै आरालो लागेको अवस्था हो । ‘महेन्द्र मोरङ हिजो दलहरुको खुला राजनीति गर्ने र प्रभाव विस्तार गर्ने मूलथलो थियो । दलहरु प्रतिबन्धमा हुँदा विद्यार्थी ‘मुभमेन्ट’ प्रभावकारी थियो । हिजोआज त्यो ‘चार्मिङ’ छैन,’ महेन्द्र मोरङका पूर्वस्ववियु सभापतिसमेत रहेका एकीकृत समाजवादीका नेता महेश रेग्मीले भने ।
विद्यार्थी राजनीति कमजोर हुँदै गएकोमा उनले चिन्ता व्यक्त गरे । ‘हिजो विद्यार्थी राजनीतिबाटै सामाजिक उत्तरदायित्व, परिवतर्नका लागि योगदान दिनुपर्छ भन्ने बिचार प्रवाह हुन्थ्यो । त्यो विस्तारै हराएर गएको छ । विद्यार्थी शैक्षिक आन्दोलनतर्फ पनि केन्द्रीत भएको देखिँदैन । चुनाव आउँदा मात्रै सक्रिय हुने अवस्था देखिन्छ,’ रेग्मी भन्छन् ।
स्ववियुका पूर्वसभापति एवं कांग्रेस नेता भीम पराजुली पनि विद्यार्थी राजनीति ओरालो लागेको स्वीकार गर्छन् । ‘पहिले महेन्द्र मोरङको स्ववियु सदस्य पनि ‘लिडर’ हुन्थ्यो । महेन्द्र मोरङले धेरै ‘लिडर’हरु जन्मायो । अहिले विद्यार्थी आन्दोलन नै कमजोर हुँदै गइरहेको छ,’ उनले भने ।
हिजो विद्यालय तहदेखि नै दीक्षित हुने परम्परा रहेको उल्लेख गर्दै पराजुलीले अहिले त्यो अवस्था नरहेको बताए । ‘विद्यार्थी आन्दोलन खस्किदा युवाको ‘मुभमेन्ट’ कमजोर हुन्छ,’ उनले भने, ‘दलहरुले विद्यार्थीको महत्त्वलाई चासो दिन छाडे ।’
लोकतन्त्र प्राप्तिपछि विद्यार्थी आन्दोलनको ‘मुभमेन्ट’ कमजोर भएको उनको भनाइ छ । पराजुली दलहरुले आन्तरिक प्रतिस्पर्धालाई प्रोत्साहन गरेर युवालाई नीति निर्माणको तहमा लैजानुपर्ने बताउँछन् ।



















