
काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा दीपक थापा नियुक्त भएका छन् । उनी नेपाल प्रहरीको ३१ औं प्रमुख बन्न सफल भएका हुन् ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई आईजीपीमा बढुवा गर्ने निर्णय लिएको हो । आईजीपी वसन्तबहादुर कुँवर सोमबार राति १२ बजेपछि अवकाशमा जाँदैछन् ।
उनी अवकाशमा जानुअघि नै सरकारले थापालाई नेपाल प्रहरीको प्रमुख बनाएको हो । उनीसँगै एआईजीहरु सुदीप गिरी र टेकबहादुर तामाङ आईजीपीको प्रतिस्पर्धामा थिए । तर, सरकारले पहिलो नम्बरमै रहेका थापालाई नेपाल प्रहरीको नेतृत्व जिम्मा लगाएको हो ।
आईजीपीका लागि गिरी र तामाङले पनि अन्तिम समयसम्म कसरत गरिरहे । तर, उनीहरुको केही सीप लागेन । थापाले उछिने । उनी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को प्रमुख थिए ।
थापा भक्तपुरका बासिन्दा हुन् । प्रहरी सेवामा प्रवेश गर्नुअघि शिक्षण पेशामा आबद्ध थिए । २०४८ सालमा शिक्षा सेवा आयोगको परीक्षा दिएका उनले निमावि शिक्षकमा नाम निकालेका थिए । कन्या मावि भक्तपुरमा पनि उनले पढाए ।
प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा २०५० साल मंसिर १० गते आवेदन खुलेपछि उनले दरखास्त दिए । सोही बेला आईजीपी कुँवरले पनि आवेदन दिएका थिए । त्यतिबेला इन्स्पेक्टरमा ६० जनाको नाम निस्किएको थियो ।
तर, सरकारले ५२ जनालाई मात्रै नियुक्त गर्यो । ८ जनाले ६ महिनापछि २०५२ साल भदौ १९ गते नियुक्ति पाए । त्यो नियुक्त पाउनेमा थापा पनि हुन् । ६ महिना ढिलो इन्स्पेक्टरको नियुक्ति पाउँदा सँगै आवेदन दिएका कुँवरलाई बिदाइ गर्ने अवसर थापाले पाए । उनलाई बिदा गर्दै आफू नेपाल प्रहरीको नेतृत्व सम्हाल्ने ठाउँमा पुगे ।
प्रहरी प्रधान कार्यालयले पनि कुँवरको बिदाइ गरिसकेको छ । थापाले अब ६ महिनासम्म नेपाल प्रहरीको नेतृत्व गर्ने छन् । प्रहरी सेवामा प्रवेश गरेपछि उनले इलाका प्रहरी कार्यालय, साँगा, बुटवल र रौतहटको गरुढामा नेतृत्व गर्ने अवसर पाएका थिए ।
थापा २०६३ भदौ ८ गते डीएसपी (प्रहरी नायव उपरीक्षक)मा बढुवा भएका थिए । डीएसपी हुँदा प्रहरी वृत्त, महाराजगञ्ज, जिल्ला प्रहरी कार्यालयहरु रुकुम, खोटाङ, सुनसरी, मोरङ, मकवानपुर र चितवनमा काम गर्ने अनुभव उनीसँग छ ।
उनी २०७२ साउन ८ गते एसपी (प्रहरी उपरीक्षक)मा बढुवा भए । बुटवल तालिम केन्द्र र प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा समेत काम गरिसकेका थापासँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत र बुटवल कार्यालयको प्रमुख भएर काम गरेको अनुभव छ ।
२०७५ फागुन ६ गते एसएसपी (प्रहरी वरिष्ठ उपरीक्षक)मा बढुवा भएका थापाले उपत्यका अपराध अनुसन्धान कार्यालयसमेत काम गरे । थापा २०७९ असार १७ गते डीआईजी (प्रहरी नायव महानिरीक्षक)मा बढुवा भए । डीआईजी हुँदा बागमती प्रदेश प्रहरी प्रमुखको जिम्मेवारीसमेत सम्हाले ।
उनले प्रबन्ध निर्देशनालय, प्रशासन विभाग र उपत्यका प्रहरी कार्यालयमा समेत नेतृत्वदायी भूमिका रहेर काम गरिसकेका छन् । उनी २०७९ चैत ६ गते एआईजी (प्रहरी अतिरिक्त महानिरीक्षक)मा बढुवा भएका थिए ।
प्रहरीको ३० बर्से सेवा अवधि नहटे थापा ६ महिनापछि अनिवार्य अवकाशमा जानेछन् । संसद्मा प्रहरी ऐनको प्रस्तावित विधेयक दर्ता छ । यो अवधिमा विधेयक पारित भए उनले थप ६ महिना प्रहरीको नेतृत्व गर्न पाउनेछन् ।
थापा हक्की स्वभावका अनुभवी प्रहरी अधिकारीमा पर्छन् । उनी इन्स्पेक्टरमा भर्ना भएको ६ महिनापछि माओवादी विद्रोह सुरु भएको थियो । पहिलो पोस्टिङ तत्कालीन सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय महेन्द्रनगरमा भयो ।
२०५४ को स्थानीय निर्वाचनमा बैतडी जिल्लामा र त्यसपछि थापाले प्रहरी स्कुल डोटीमा काम गरे । युद्धकालमा रुकुमको मैकोटमा १ वर्ष ‘स्ट्राइकिङ’ टोलीमा बसेर उनले काम गरेका थिए ।
युद्धको समयमा काभ्रेको कात्तिके देउराली र रौतहटमा ३ वर्ष काम गरे । रौतहटको इलाका प्रहरी कार्यालय गरुडामा बस्दा थापा ३ पटक दोहोरो भिडन्तमा परेका प्रहरी अधिकारी हुन्। त्यो भिडन्तमा आफू झन्डै मारिएको उनले बताउने गरेका छन् ।
रुकुम बस्दा आफ्नो टोली २ पटक एम्बुसमा परेको थापाले बताउने गरेका छन् । शान्ति सम्झौतापछि खोटाङ प्रहरी प्रमुखको जिम्मेवारी पाए । २०६४ को पहिलो संविधानसभा निर्वाचन हुँदा खोटाङ प्रहरीको नेतृत्व थापाले गरिरहेका थिए । युद्धकालीन सयममा हरेक दिन चुनौतीपूर्ण समय झेलेका थापा अहिले प्रहरीको सर्वोच्च कमाण्डर बनेका छन् ।

























