
विराटनगर । विराटनगरमा सोमबार अपरान्ह आगलागी भएको छ । आगोले ४ वटा घर जलेर ध्वस्त भएका छन् ।
विराटनगर महानगरपालिका–१ परोपकार घाटका अनवर अन्सारी, असरफ अन्सारी, अफसर अन्सारी र सन्तोष कामतको घर आगोले जलेर ध्वस्त भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार अपरान्ह ४ः३० बजेतिर आगलागी सुरु भएको थियो ।
स्थानीय र दमकलको सहयोगमा करिब १ घण्टापछि आगो नियन्त्रणमा लिइएको उनले बताए । आगोले ४ वटा घरसहित घरभित्र रहेका सबै सामान जलेर ध्वस्त भएको जोशीले बताए ।
सबै घरहरु टाटीबेराले बनेका र १ तले थिए । घटनामा २० लाख बढीको क्षति भएको छ । ‘प्रत्येक घर जल्दा करिब ४ लाख बराबरको क्षति भएको पाइयो,’ उनले भने, ‘हावा चलेका कारण तत्काल नियन्त्रणमा लिनसक्ने अवस्था पनि भएन ।’
आगलागीको कारण थाहा हुन सकेको छैन । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । तर, घटनापछि ४ परिवारका बिचल्ली भएको छ । घटनामा मानवीय र चौपाया क्षति भने नभएको जानकारी प्रहरीले दिएको छ ।

























