कोशीमा उत्पादन भएको ढाका विश्वभर चिनिँदै छ : राजेन्द्र राउत

Share this
700shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत ५, मंगलबार २२:२७

‘तेह्रथुमे ढाका’ नेपालमै चर्चित छ । पछिल्लो समय यो तेह्रथुममा मात्रै सीमित रहेन । कोशी प्रदेशको पहाडी जिल्लाका महिला ढाका बुनाइ र बिक्रीबाट नै व्यावसायिक बनेका छन् । कोशीका पहाडी जिल्लामा उत्पादन भएको ढाकाले चर्चा कमाइरहँदा यसको अझै प्रचार र बजार व्यवस्थापनका लागि नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले चैत ७ देखि ९ गते सम्म विराटनगरमा ढाका कपडा महोत्सव गर्दैछ । महोत्सवमा महिला उद्यमीले तयार गरेका मौलिक ढाका सामग्रीको प्रदर्शनी गरिने छ । महासंघ प्रदेश महिला उद्यमी विकास समितिको संयोजनमा हुने महोत्सवलाई प्रदेशको सामाजिक विकास मन्त्रालयले सहकार्य गरेको छ । यो महोत्सवमा के के हुन्छन् ? र यसले ढाकाको बजारलाई थप फराकिलो पार्न कस्तो भूमिका खेल्न सक्छ ? यसै सेरोफेरोमा रहेर मुलुकी खबरले आयोजक नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतसँग गरेको कुराकानी ।
०००

ढाका महोत्सव आयोजना गर्दै हुनुहुन्छ, यो महोत्सवको मुख्य उदेश्य के हो ?
ढाका कपडा र यसको उत्पादन गर्ने उद्योग कोशी प्रदेशको सान पनि हो । यस प्रदेशमा नेपाली मौलिक पहिचान बोकेर ढाका उद्योगहरू खुलेका छन् । धेरै महिलाहरूले यस्ता उद्योगमा रोजगारी पाएका छन् भने केहीले राम्रा उद्यमी बनेर उद्योगलाई स्थापित पनि गरेका छन् । पछिल्लो समय बजारमा यसको माग बढ्दै गएको छ । महिलाहरूले यसलाई आधुनिक शैलीको बनाएर पनि विभिन्न पोसाक तयार पारिरहेका छन् । महिलाहरूले मिहिनेतले गरेको उत्पादन र बजारको आकर्षण बढिरहेको यो समयमा कोशी प्रदेशका जिल्लामा उत्पादित ढाका सबै स्थानमा ‘ब्राण्ड’ बनेर उभिनुपर्छ भन्ने हाम्रो मान्यता हो । पहाडी जिल्ला तेह्रथुमको ढाका त अझै धेरै चर्चित छ । कतैकतै तेह्रथुमे ढाकाको नक्कल गरेर पनि नाम जोड्दै बिक्री गर्ने गरेको हामीले पाएका छौं । अब यसरी नागरिकलाई आत्मनिर्भर बनाउने ढाकालाई सीमित बजारमा मात्रै राखेर हुँदैन । अन्तर्राष्ट्रियस्तरमा पुर्याउँदै आफ्नो पहिचान बनाउनुपर्छ भन्ने हाम्रो मूल उद्देश्य हो । त्यसैले हामी महोत्सवको आयोजना गरेर नै यसको प्रचार र बजारीकरणमा लागेका हौं । यसले ढाका कपडाको गुणस्तर अभिवृद्धि तथा सरोकारवालाहरू बीच समन्वय र सहकार्यलाई पनि अगाडि बढाउँछ ।

कपडाहरूमा ढाकाको महत्व किन यति बढी छ ?
ढाकाको टोपी त नेपालीको पहिचान नै हो । चट्ट मिलेको टोपी लगाएर त्यसमा पनि ढाकाको, परापूर्व कालदेखि नै यसको महत्व थियो । अझै ढाकाको चोली, पछ्यौरी, साडी र अहिले कुर्ता सुरुवाल हुँदै महिलाले बोक्ने विभिन्न साइजका ब्याग पनि ढाकाको कपडा प्रयोग गरेर उत्पादन गरिएको छ । यसको प्रयोग र महत्व क्रमशः बढ्दै छ । भनिन्छ, ‘ढाकाको कपडा लगाएकालाई हेर्ने नजर नै फरक (सकरात्मक) हुन्छ रे ।’ यो प्राय बुट्टेदार, नरम र शरीरलाई पनि शान्त, शीतल राख्न मदत पुर्याउने भएकाले यसको अन्य कपडाको तुलनामा महत्व बढी छ ।

यो महोत्सवमा के के हुन्छन् ?
मुख्य कुरा त ढाकाका कपडा र यसबाट उत्पादन गरिएका सामग्रीको प्रदर्शन नै हो । यसका अलावा ढाका ‘फेब्रिक’को ‘फेसन सो’, ढाका उद्यम व्यवसाय प्रवर्धनका लागि संवाद कार्यक्रम, तानमा ढाका कपडा बुन्ने प्रतियोगिता र विभिन्न सांस्कृतिक कार्यक्रम हुन्छन् ।

यो महोत्सवले अहिलेकै अवस्थामा ढाका व्यवसायीलाई के फाइदा पुग्छ भन्ने सोच्नुभएको छ ?
पहिलो कुरा त यो महोत्सवले ढाका कपडाको ‘ब्रान्डिङ’ गर्नेछ । विशेष गरेर नेपालको ग्रामीण भेगका महिलाहरू आफ्नै मौलिक प्रविधिको प्रयोग गरेर यसको उत्पादन गर्नुहुन्छ । यो व्यवसाय धेरै महिला दिदीबहिनीहरूको आर्थिक उपार्जनसँग जोडिएको छ । यो महोत्सव यहाँ पहिलोपटक आयोजना गर्न लागिएको हो । यसले ढाका कपडा बजारीकरणमा पक्कै पनि सहयोग मिल्नेछ । यसले व्यवसायीलाई धेरै फाइदा पुर्याउँछ ।

कोशी प्रदेशमा ढाका व्यवसायको अवस्था कस्तो छ ? अनि यसले मुलुकको अर्थतन्त्रमा कस्तो प्रभाव पारेको छ ?
सुरुवाती चरणमा कोशी प्रदेशको विशेष गरेर तेह्रथुम, ताप्लेजुङ र पाँचथर जिल्लाका ग्रामीण भेगमा मात्रै यसको व्यवसाय थियो । त्यो पनि लिम्बू समुदायका दिदीबहिनीहरूले घरमा तान लगाएर बुन्ने गर्नु भएको थियो । त्यो परम्परागत नै थियो भन्दा पनि हुन्छ । अहिले परम्परागत ढाका कपडालाई आधुनिक कपडाहरूमा मिसाएर आधुनिक पहिरन निर्माण गर्ने क्रम बढेको छ । ढाकाले धेरैलाई रोजगारी सिर्जना गरेको छ । पहिले घरका तानमा सीमित ढाका व्यवसाय अहिले उद्योगका रूपमा नै स्थापित हुन थालेका छन् ।
अर्को कुरा रोजगारीका सिलसिलामा धेरै नेपाली बाहिर रहेका छन् । परदेशमा हुने विशेष कार्यक्रममा यसको महत्व अझै बढ्दै गएको छ । विदेशमा चिनोका रूपमा उल्लेख्य मात्रामा यसको निर्यात हुन थालेको छ । तथ्यांकमा अहिले यति नै भन्न नसकिए पनि ढाका उद्यमको राम्रो सम्भावना हाम्रै प्रदेशमा छ । यसको बजारमा माग उच्च भएकाले अर्थतन्त्रमा राम्रै प्रभाव पारेको भन्न सकिन्छ ।

ढाका व्यवसायलाई टिकाइ राख्न सकिएला ? अहिलेसम्म अवस्था कस्तो छ ?
मेसिनद्वारा उत्पादन गरिएको ढाकाका कारण नेपाली महिलाहरूले परम्परागत रूपमा उत्पादन गर्दै आउनुभएको नेपाली ढाका समस्यामा परेको छ । मेसिनबाट चाँडै उत्पादन हुने र हेर्दा उस्तै देखिने भएकाले तानमा बुनेको भन्दा सस्तोमा बजारमा आएको छ । यसले गर्दा हाम्रो प्रदेशको पहाडी क्षेत्रको गाउँ–गाउँमा उत्पादन हुने ढाकाले बजारमा समस्या भोग्नु परेको छ । केहीले मात्रै हातले बुनेको दह्रो र टिकाउ हुने भन्दै खोज्ने भएकाले गाउँका उत्पादनलाई बजार पुर्याउन चुनौती छ । अब यो बहस पनि हामी महोत्सवमा गरेर यसलाई टिकाइ राख्न के गर्न सकिन्छ भन्ने उपाय खोज्ने तयारीमा छौं ।

यो महोत्सवले अब अन्तर्राष्ट्रिय व्यापारमा कस्तो सहजीकरण गर्न सघाउ पुर्याउला ?
मुख्य गरेर महोत्सवको पाटो भनेकै बजार खोजिदिने र बजारमाा देखाइदिने हो । यो महोत्सवले पक्कै पनि व्यापार बढाउन र अन्तर्राष्ट्रिय व्यापारमा सघाउँछ नै । अर्को कुरा रोजगारीलगायत उच्च शिक्षाको लागि अहिले नेपालीहरू संसारका विभिन्न देशमा पुगेका छन् । जहाँ–जहाँ नेपालीहरू पुगेका छन्, त्यहाँ नेपालको संस्कृति र परम्पराहरूको प्रचारप्रसार गरेका छन् । उनीहरुले त्यहाँ गर्ने कार्यक्रमहरूमा विशेष गरेर ढाका कपडाको प्रयोग गर्ने प्रचलन बढेको छ । अहिले विशेष गरेर आधुनिक पोसाकहरूमा ढाकाको ‘फ्याब्रिक’लाई जोडेर विशेष पहिरन बनाउने प्रचलन बढेको छ । हामीले ढाकालाई अझै यसको गुणस्तर र बजारीकरणमा जोड दिने हो भने नेपालले यसको निर्यात क्षेत्रमा उल्लेख्य योगदान गर्न सक्छ । यसमा सबैको भूमिका आवश्यक छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.