
एजेन्सी । विश्वको सबैभन्दा खुसी देश फिनल्याण्ड बनेको छ । फिनल्याण्डलगातार ८ औं पटक विश्वको सबैभन्दा खुसी हुने देश बनेको हो ।
अक्सफोर्ड विश्वविद्यालयको वेलबिङ रिसर्च सेन्टरले प्रकाशित गरेको वल्ड ह्याप्पिनेस रिपोर्ट २०२५ अनुसार खुसी आर्थिक विकासले मात्र निर्धारण गर्दैन, तर मानिसहरूबीचको पारस्परिक विश्वास र सामाजिक सम्बन्धले पनि यसमा ठूलो भूमिका खेल्छ ।
प्रतिवेदनका आधारमा १ सय ४७ देशहरूको यो वरीयतामा नेपाल ९२ औं स्थानमा रहेको छ भने भारत १ सय १८ औं स्थानमा रहेको छ ।
प्रतिवेदनका अनुसार अन्य नोर्डिक देशहरू पनि फेरि एक पटक खुसीको वरीयतामा शीर्ष स्थानमा छन् । फिनल्याण्ड बाहेक डेनमार्क, आइसल्याण्ड र स्वीडेन क्रमशः शीर्ष ४ मा छन् ।
देशहरूको श्रेणीकरण मानिसहरूलाई आफ्नो जीवनको मूल्यांकन गर्न सोध्दा दिइएको जवाफको आधारमा गरिएको थियो । यो अध्ययन विश्लेषणात्मक फर्म ग्यालप र संयुक्त राष्ट्र संघको दिगो विकास समाधान नेटवर्कसँगको साझेदारीमा गरिएको थियो ।
‘खुसी भनेको केवल पैसा वा वृद्धिको बारेमा मात्र होइन– यो विश्वास, सम्बन्ध र मानिसहरू तपाईंको पछाडि छन् भन्ने जान्ने बारेमा हो,’ ग्यालपका सीइओ जोन क्लिफ्टनले भने, ‘यदि हामी बलियो समुदाय र अर्थतन्त्र चाहन्छौँ भने, हामीले वास्तवमै महत्वपूर्ण कुराहरूमा लगानी गर्नुपर्छ : एकअर्का ।’
अमेरिका खुसी मानिसहरूको श्रेणीमा अहिलेसम्मकै सबैभन्दा कम बिन्दुमा पुगेको छ । वरीयताको शीर्ष २० मा युरोपेली देशहरूको प्रभुत्व छ, तर केही अपवादहरू पनि छन् ।
हमाससँगको युद्धको बावजुद, इजरायल ८ औं स्थानमा छ । कोस्टारिका र मेक्सिको पहिलो पटक खुसी देशहरूको शीर्ष १० मा प्रवेश गरे, क्रमशः छैटौं र १० औं स्थानमा।
अमेरिका यस वरीयतामा अहिलेसम्मकै सबैभन्दा तल्लो स्थानमा २४ औं स्थानमा पुगेको छ । यसअघि २०१२ मा अमेरिका ११ औं स्थानमा थियो ।
अफगानिस्तान (नम्बर १४७) फेरि एक पटक सूचीको पुछारमा छ । खुसीको हिसाबले सबैभन्दा पुछारका ५ देशहरूमा सियरा लियोन (नम्बर १४६), लेबनान (नम्बर १४५), मलावी (नम्बर १४४) र जिम्बाब्वे (नम्बर १४३) पर्छन् ।























