
विराटनगर । सामाजिक सञ्जालमार्फत गालीगलौज गर्ने झापाको हल्दिबारी गाउँपालिका–१ घर भएका २७ वर्षीय नितेश ओली भनिने नवराज ओली पक्राउ परेका छन् ।
ओलीले फोनमार्फत प्रहरीलाई समेत अश्लिल र अपमानजनक शब्द प्रयोग गरेर धम्क्याएका थिए । ओली चैत ३ गते काठमाडौंको सोह्रखुट्टेबाट पक्राउ परेका हुन् ।
काटमाडौंबाट पक्राउ गरेर थप अनुसन्धानका लागि झापा लगिएको छ । सामाजिक सञ्जालमा जथाभावी गाली गर्ने गरेका ओलीविरुद्ध प्रहरीमा उजुरी परेको थियो ।
सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिहरूलाई गालीगलौज गर्दै धम्की दिने गरेको भनेर गोलधाप प्रहरी चौकीमा उनीविरुद्ध उजुरी परेको हो । उजुरी परेपछि प्रहरीले खोजी थालेको थियो ।
खोजीमा खटिएको प्रहरीलाई समेत टेलिफोनमार्फत अश्लिल गालीगलौज गर्दै धम्क्याएका थिए । उनले फागुन ४ गते प्रहरीलाई धम्क्याएका हुन् ।
ओलीमाथि थप अनुसन्धान भइरहेको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले बताए । उनका अनुसार ओलीविरुद्ध अभद्र व्यवहार मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको छ ।

























