
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाले सात सय ५० किसानलाई कृषि सामग्री वितरण गरेको छ । गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने लक्ष्यले यहाँका किसानलाई रु ५१ लाख बराबरको कृषि सामग्री वितरण गरिएको हो ।
गाउँपालिकाले किसानको मागको आधारमा ५० प्रतिशत अनुदानमा आवश्यक कृषि सामग्री वितरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए । किसानलाई व्यावसायिक अकबरे खुर्सानी खेतीको लागि मल्चिङ प्लाष्टिक, प्लाष्टिक टनेल, हातेट्र्याक्टर, प्लाष्टिक पोखरी, स्प्रे गरी रु ५१ लाख बराबरको कृषि सामग्री हस्तान्तरण गरिएको प्रशासकीय अधिकृत भट्टराईले बताए ।
“किसानलाई ५० प्रतिशत लागत साझेदारीमा कृषि सामग्री वितरण गरिरहेका छौँ”, प्रशासकीय अधिकृत भट्टराईले भने, “पहिलो चरणमा रु ५१ लाख बराबरको कृषि सामग्री बोलपत्रमार्फत आह्वान गरेर वितरण थालेका छौँ । यो वर्ष करिब रु ७० लाख बराबरको सामग्री हस्तान्तरण गर्ने लक्ष्य छ ।”
किसानलाई एक हजार पाँच सय रोल मल्चिङ प्लाष्टिक, सात सय वटा टनेल प्लाष्टिक, ७८ वटा इलेक्ट्रिक स्पेरियर, १५ वटा हाते ट्र्याक्टर वितरण गरिने उनको भनाइ छ । किसानले गरिरहेको व्यवसायको आधारमा आवश्यक सहयोग गरिरहेको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताए ।
किसानलाई व्यावसायिक बनाएर आर्थिक रूपमा सक्षम बनाउन ठूलो लगानीमा कृषि सामग्री वितरण गरिएको उपाध्यक्ष राईको भनाइ छ ।



















