
विराटनगर । कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले पछिल्लो ६ महिनामा १८ करोड ६० लाखभन्दा बढी बेरुजु असुल गरेको छ ।
आर्थिक वर्ष २०७९ / ८० सम्म कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको बेरुजु ३६ करोड ५१ लाख ७४ हजार ९ सय ४० रुपैयाँ थियो ।
पछिल्लो ६ महिनामा मन्त्रालयले १८ करोड ६० लाख ९ हजार ७ सय १७ रुपैयाँ बेरुजु असुल गरेको हो ।
मन्त्रालयको जिम्मेवारी सम्हालेपछि भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राईले बेरुजू फछर्यौटका लागि मातहतका कार्यालयलाई निर्देशन दिएको थिए ।
उनले बेरुजु असुलीका लागि निर्देशन दिएपछि ६ महिनामा कूल बेरुजुको आधा असुल भएको बताए । ‘६ महिनामा बेरुजु असुल सकारात्मक छ,’ मन्त्री राईले भने, ‘बेरुजु फछर्यौट गर्ने अभियानमा छौँ । पूर्वाधार मन्त्रालयकै १ करोड ६३ लाख ७५ हजार ७ सय ५१ रुपैयाँ बेरुजु थियो । जसमा १० लाख बेरुजु असुल भइसकेको छ ।’
पूर्वाधार विकास कार्यालयमध्ये सबैभन्दा बढी मोरङको १८ करोड ६२ लाख ९३ हजार २ सय ३५ रुपैयाँ असुल गर्नुपर्ने बेरुजु थियो । जसमा १६ करोड १६ लाख ९४ हजार रुपैयाँ बेरुजु असुल भएको छ ।
उदयपुरबाट ६४ लाख ३७ हजार ७ सय १५ रुपैयाँ, ओखलढुंगाबाट १ करोड ३७ लाख ४४ हजार १ सय २८ रुपैयाँ, भोजपुरबाट ५८ हजार ३ सय ८८ बेरुजु असुल गरेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै, सहरी विकास तथा भवन कार्यालयतर्फ मोरङले ८ लाख ४२ हजार ४ सय १४ रुपैयाँ, इलामले ७ लाख ८३ हजार ४ सय ५ रुपैयाँ, धनकुटाले ८ लाख ६० हजार ८ सय ५४ रुपैयाँ र ओखलढुंगाले ५ लाख ८८ हजार ८ सय १३ रुपैयाँ बेरुजु असुल गरेको मन्त्रालयले जनाएको छ ।
यातायात पूर्वाधार निर्देशनालय, पूर्वाधार विकास कार्यालय झापा, पूर्वाधार विकास कार्यालय पाँचथर र संखुवासभाले भने बेरुजु असुल गर्न सकेनन् ।
मन्त्रालयले बेरुजु संकलनलाई प्राथमिकतामा राखेर काम गरिरहेको मन्त्री राईले जानकारी दिए ।

























