एखुवा खोलामा बन्याे पुल, हट्यो सास्ती

Share this
755shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत ९, शनिबार ०७:४५

भोजपुर । भोजपुरको हतुवागढी हसनपुर–९ र आमचोक गाउँपालिका–८ जोड्ने एखुवा खोला पक्की पुल निर्माण भएको छ ।

यो पुल कोशी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय भोजपुरको सात करोड ३७ लाख लागतमा निर्माण गरेको हो । एक स्पानमा निर्माण भएको पुलको लम्बाइ ३७ मिटर रहेको छ ।

विसं २०७९ चैतदेखि निर्माण सुरु भएको यो पुलको निर्माण अवधि दुई वर्ष रहेको थियो । एखुवा खोला पक्की पुल निर्माण समय अवधिभित्र नै सम्पन्न भएको पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीले बताए । पुल निर्माण सम्पन्न भएपछि सवारी आवतजावत सुरुआत गरिएको छ ।

‘एखुवा खोला पक्की पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएको छ’, प्रमुख रेड्डीले भने, ‘पुल सम्झौता अवधिभित्र नै निर्माण सम्पन्न भएको छ । स्थानीयले भोगेको समस्यालाई ध्यानमा राखेर निर्माणको कामलाई तीव्रता दिइएको हो । पुल बनेसँगै स्थानीयलाई सहजता थपिएको अवस्था छ । पुलबाट सवारी आवतजावत सुरु भएको छ ।’

यो पुल ओपन फाउन्डेसन एक स्पानमा निर्माण गरिएको प्रादेशिक सडक, पुल आयोजना कोशी प्रदेशका संयोजक सूर्यनारायण चौधरीले बताए । पुल गुणस्तरीय ढङ्गले निर्धारण गरिएको मापदण्डअनुसार निर्माण भएको उनको भनाइ छ। खोलाको पानीको बहावलाई ख्याल गरेर पुल निर्माण गरिएको जनाइएको छ ।

पुल बनेपछि दक्षिणी क्षेत्रका नागरिकलाई आवतजावतमा सहजता भएको हतुवागढी–९ हसनपुरका वडाध्यक्ष सञ्जाल राईले बताए । पुल निर्माण भएर सञ्चालनमा आएपछि यहाँका स्थानीयवासीको वर्षौंदेखिको समस्या अन्त्य भएको उनको भनाइ छ । ‘यो खोलामा पुल बनेपछि स्थानीयको वर्षौंको समस्या अन्त्य भएको छ’, वडाध्यक्ष राईले भने, ‘पुल नहुँदा धेरै जोखिम थियो । बाढी आएको बेला खोला पार गर्ने अवस्था थिएन । पुल निर्माणले हतुवागढी र आमचोक गाउँपालिकाका नागरिकलाई सहजता भएको छ ।’

वर्षौंबाट सास्ती भोग्दै आएको खोलामा पुल बनेपछि स्थानीयवासी खुसी भएका छन् । बाढी आएको समयमा खोलामा नै बास बस्नुपर्ने बाध्यता रहेकोमा पक्की पुल बनेपछि सहजता भएको स्थानीयवासी सन्तोषजङ्ग राईले बताए । ‘यो खोलामा हाम्रो पालामा पुल बन्छ भन्ने साचेको थिइन्’, उनले भने, ‘यो खोलामा पुल नभएको कारण धेरै समस्या रहेको थियो । अहिले पुल बनेर सञ्चालनमा आउँदा खुसी लागेको छ ।’

धेरै समस्याका बीच पनि पुललाई सम्झौता अवधिभित्र नै निर्माण सम्पन्न गर्न सफल भएको निर्माण कम्पनी राउत कन्ट्रसनका प्रमुख कुलबहादुर राउतले बताए । भौगोलिक रुपमा विकटतासँगै उदयपुर र भोजपुरलाई जोड्ने दूधकोशीमा पुल नहुँदा सामग्री ढुवानीमा निकै समस्या भएको उनको भनाइ छ ।

‘भौगोलिक रुपमा निकै विकट रहेकाले यहाँ पुल निर्माण गर्न धेरै चुनौती थियो’, प्रमुख राउतले भने, ‘सबैको साथ सहयोगका कारण समयमा नै पुल निर्माण सम्पन्न गर्न सफल भएको छु । पुल तोकिएको मापदण्डअनुसार निर्माण भएको छ ।’ पुल समयमा नै गुणस्तरीय ढङ्गले निर्माण गराउन नियमित अनुगमनसँगै कार्यालयको प्रत्यक्ष निगरानी भएको पूर्वाधार विकास कार्यालय भोजपुरका इञ्जिनियर पर्शुराम शाहले बताए ।

तपाइको प्रतिक्रिया
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.