
विराटनगर । झापाको कनकाई नगरपालिका–५ मा मंगलबार बिहान घरभित्र पत्नी (श्रीमती) मृत अवस्थामा र पति (श्रीमान) घाइते अवस्थामा फेला परेका छन् ।
ताप्लेजुङ सिमला घर भइ हाल कनकाई–५ स्थित नारायण दल चोकमा योगेन्द्र बस्यालको घरमा डेरा गरी बस्ने ४० वर्षीया मनिषा मंग्रान्ती मृत अवस्था भेटिएकी थिइन् । ३९ वर्षीय उनका श्रीमान लालबहादुर सार्की गम्भीर घाइते अवस्थामा फेला पारेर थिए ।
घाइते अवस्थामा फेला परेका सार्कीलाई तत्कालै उपचारका लागि बिर्तामोडको बी एण्ड सी अस्पताल लगिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । मृत मनिषा र घाइते लालबहादुर श्रीमान–श्रीमती हुन् ।
खुकुरी प्रहार भइ घटना भएको भन्ने खबर प्राप्त हुनसाथ प्रहरी परिचालन गरिएको प्रदेश प्रहरी प्रवक्ता एसएसपी भीमबहादुर दाहालले बताए । उनले भने, ‘प्रहरी पुग्दा श्रीमती (मनिषा) मृत अवस्थामा भेटिएकी थिइन् । अर्को कोठामा उनका श्रीमान लालबहादुर गम्भीर अवस्थामा भेटिएका थिए । उनको घाँटीमा धारिलो हतियारले रेटेको देखिन्छ । तत्कालै लालबहादुरलाई उपचारका लागि अस्पताल पठायौं । उनको उपचार भइरहेको छ ।’
मनिषालाई हतियार प्रहार गरी हत्या गरेको भनिए पनि घटनास्थलमा हेर्दा त्यस्तो नदेखिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मनिषा सोही घरको कोठाको भुइँमा मृत अवस्थामा भेटिएकी थिइन् ।
कोठाको काठको बलोमा नाइलनको सल झुण्डिएको अवस्थामा रहेको थियो । घटनाको प्रकृति हेर्दा मृतक सलको पासो लगाई झुण्डिएको र पछि पासो खोलेको जस्तो देखिएको छ । उनको घाँटीमा सलको पासोको डाम देखिएको र धारिलो हतियार प्रहार भएको नदेखिएको प्रहरीले जनाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट सोमबार राति श्रीमान–श्रीमतीबीच विवाद भएको खुले पनि त्यही विवादका कारण घटना भएको हो कि हैन भनेर यकिन भइनसकेको एसएसपी दाहालले बताए । उनका अनुसार घाइते अवस्थामा भेटिएका श्रीमानको उपचार ठीक भइसकेपछि घटनाको वास्तविकता पत्ता लाग्ने अपेक्षा छ ।
मृतक मनिषाको शवको पोस्टमार्टम रिपोर्ट आएपछि धेरै विषय पत्ता लाग्ने प्रहरीको भनाइ छ । विभिन्न कोणबाट घटनाको अनुसन्धानबाट थालिसकिएको बताउँदै दाहालले चाँडै नै यथार्थ कुरा बाहिर आउने बताए ।

























