
इटहरी । सुनसरीको इटहरी बजारको मुख्यचोकमा रहेको १० तले व्यावसायिक भवनमा लागेकाे आगो नियन्त्रण र उद्धारमा हेलिकप्टर पनि परिचालन गरिएको छ । हेलिकप्टरले केहीकाे उद्धार गरेकाे छ ।
सेन्टर प्लाजा नामले परिचित सो भवनमा एक्कासि आगो लागेपछि भवनभित्र रहेका मानिसलाई बाहिर ल्याउने र आगो निभाउने काम भइरहेको छ ।
भवनको बीच भागमा आगो लागेकाले माथिल्लो तलाबाट उद्धार कार्य भइरहेको तथा भवनभित्र फसेका मानिस उद्धारको पर्खाइमा रहेको प्रहरीले जनाएको छ ।
आगो लागेको सूचना पाउनासाथ नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीसहित स्थानीय बासिन्दा उद्धार कार्यमा जुटिरहेका छन् ।
बिहान करिब ९ः४५ बजे भवनको पाँचौँ तलामा आगो लागेपछि अहिले ग्यासका सिलिण्डर पड्किरहेको र फसेका मानिसलाई डोरीको सहायताबाट बाहिर ल्याउने काम भइरहेको छ ।
भवन आगलागीका कारण धनजनको क्षति हुन नदिई सकुशल रुपमा उद्धार गर्न सकियोस् भनी नेपाली सेनाको हेलिकोप्टर घटनास्थल आएकाे छ ।

























