
विराटनगर । झापाको भद्रपुर नगरपालिका–१० का २९ वर्षीय सरोज बस्नेतको दुर्घटनामा परेको डेढ वर्ष (१९ महिना)पछि मृत्यु भएको छ ।
बस्नेत सवार प्र १–०१–०१३ प ५१४० नम्बरको मोटरसाइकल र अर्को मे ५ प ५५६८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर २०८० भदौ १३ गते मध्यरातमा दुर्घटना भएको थियो । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बिर्तामोड नगरपालिका–३ सञ्जीवनी अस्पतालअगाडि दुर्घटना भएको हो ।
दुर्घटनामा परेर ५५६८ नम्बरको मोटरसाइकलका चालक कनकाई नगरपालिका–५ का २६ वर्षीय सागर घिमिरेको त्यतिबेलै मृत्यु भएको थियो । गम्भीर घाइते भएका घिमिरेलाई उपचारका लागि बिर्तामोडको बी एन्ड सी अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका थिए ।
त्यही दुर्घटनामा ५१४० नम्बरको मोटरसाइकलका चालक बस्नेत गम्भीर घाइते भए । उनलाई उपचारका लागि विभिन्न अस्पताल लगिएको थियो । तर, स्वास्थ्यमा सुधार भएको थिएन ।
दुर्घटनामा परेपछि अचेत अवस्थामा रहेका बस्नेतको बुधबार बिहान आफ्नै घरमा मृत्यु भएको झापा प्रहरीले जनाएको छ । घरमै औषधि सेवन गर्ने क्रममा उनको मृत्यु भएको प्रहरीको भनाइ छ । प्रहरीले कानुनी प्रक्रिया पूरा गरेर शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ ।

























