
विराटनगर । धनकुटाको सहिदभूमि गाउँपालिका–१ बाट ठूलो परिमाणमा लागुऔषध गाँजा ‘लोड’ गरिएको अटो टेम्पो प्रहरीले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको टोलीले बुधबार राति १० बजेतिर को १ ह ९१३३ नम्बरको अटोलाई नियन्त्रणमा लिएको थियो । अटो नियन्त्रणमा लिएर खानतलासी गर्दा १ सय ५ किलोग्राम गाँजा बरामद भएको कोशी प्रदेशका प्रहरी प्रवक्ता एसएसपी भीमबहादुर दाहालले जानकारी दिए ।
उनका अनुसार ७ वटा बोरामा ‘प्याक’ गरेर अटोमा लोड गरिएको अवस्थामा गाँजा फेला परेको हो । गाँजा फेला परेपछि अटोसहित चालक सहिदभूमि–१ का २५ वर्षीय अभिषेक विकलाई पक्राउ गरिएको एसएसपी दाहालले बताए ।
पक्राउ परेका चालक विकसहित बरामद भएको गाँजा र नियन्त्रणमा लिएको अटोलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धनकुटामा राखिएको छ । यस विषयमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

























