विराटनगर आएर ‘आत्मकथा’ बेच्दै महावीर पुन

Share this
766shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत १५, शुक्रबार ०९:०४
फोटो क्याप्सन : प्रेस चौतारी मोरङ अध्यक्ष चीना थापा नेपाली वैज्ञानिक डा. महावीर पुनको पुस्तक खरिद गर्दै ।

विराटनगर । नेपाली वैज्ञानिक डा. महावीर पुनले कोशी प्रदेशको राजधानी विराटनगर आएर आफ्नै ‘आत्मकथा’मा आधारित पुस्तक बिक्री गरिरहेका छन् ।

उनले विराटनगरको महेन्द्र चोकमा बिहीबारदेखि पुस्तक बिक्री गर्न थालेका हुन् । उनको पुस्तक किन्न विद्यार्थी, युवा, महिला, ज्येष्ठ नागरिकसमेतको भिड लागेको थियो । तत्काल किताब किनेर पुनसँग फोटो खिचाउनेको संख्या पनि उल्लेख्य थियो ।

किताब बिक्री भइरहेको स्थानमा पुगेर पाठकले पुनबाटै पुस्तक किन्ने गरेका हुन् । नेपालबाट युवा पुस्ता विदेशिने क्रम बढेका बेला आफ्नै देशमा युवाहरुका लागि रोजगारीको अवसर सृजना गर्ने योजनासाथ पुन अघि बढिरहेका छन् ।

उनी युवालाई नेपालमा टिकाइराख्न दिनरात खटिएका छन् । कुनै पसलबाट नभइकन उनले सडकमा उभिएर आमनागरिककै शैलीमा आफ्ना पुस्तक बिक्री गर्ने गर्छन् । ‘सादा जीवन, उच्च विचार’का धनी पुनले बिक्री गर्ने किताब आमनागरिकले बढी रुचाएका छन् ।

उनको पुस्तक बिक्रीको उद्देश्य भने फरक छ । देशमा पुस्तक बिक्रीको ‘शिविर’ सञ्चालन गरेर हिँडिरहेका उनी विराटनगर आउनुअघि यही अभियानअन्तर्गत ४१ जिल्लामा पुगिसकेका छन् । विभिन्न ठाउँमा पुग्नुको उद्देश्य आफ्नो ‘आत्मकथा’मा आधारित पुस्तक बिक्री गर्नु हो ।

पुनले आफ्नो जीवनीमा आधारित पुस्तक ‘महावीर पुन, सम्झना, सपना र अविरल यात्रा’ बिक्री गर्न आउँछु भन्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । उनको पोस्टलाई धेरैले सेयर गरिदिएका छन् । त्यति मात्रै हैन, पुस्तक नै किनेर सहयोग गरिरहेका छन् ।

राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेर वैज्ञानिक अध्ययन तथा अनुसन्धानमा क्रियाशील पुनले वीरगन्जमा कृषि औजार कारखाना सञ्चालन गर्ने उद्देश्य राखेका छन् । उनले किताब बेच्दै हिँडेको १ वर्ष पुगेको छ । यो अवधिमा १ लाख ८० हजारभन्दा बढी किताब बिक्री भइसकेको पुनले बताए ।

उनले पुस्तक बिक्रीबाट आएको सबै रकम वीरगन्जमा कृषि औजार कारखाना सञ्चालनका लागि पठाउने गरेका छन् । विराटनगरमा पहिलो दिन बिहीबार उनले ४ सयभन्दा बढी किताब बेचेका छन् । अझै केही दिन बसेर विराटनगरमा रहेका विभिन्न कार्यलय, विद्यालय, क्याम्पस र मुख्य चोकहरुमा किताब बिक्री गर्ने उनको योजना छ ।

विराटनगरका विभिन्न संघ संस्थाले उनलाई सहयोग गर्ने योजना बनाएका छन् । सर्वसाधारणले किताब खरिद गर्ने मात्रै हैन, बिक्रीका लागि पनि उनलाई सहयोग गरिरहेका छन् । एउटा पुस्तकको मूल्य ७ सय ५० रूपैयाँ छ ।

विराटनगरका स्थानीयले वीरगन्ज कृषि औजार कारखाना सञ्चालनका लागि रकमसमेत सहयोग गरेको पुनले बताए । उनलाई विभिन्न मुलुकले सम्मानसमेत गरेका छन् । ‘आत्मकथा’मा आधारित पुस्तकले पुनको संघर्षपूर्ण जीवनलाई उजागर गरेको छ ।

नेपाली वैज्ञानिक पुन शिक्षक, सामाजसेवी, उद्यमी एवं हिमालयका दुर्गम क्षेत्रहरूको विकासित ताररहित प्रविधिको प्रयोगमा प्रसिद्ध छन् । उनको अभियानलाई अशोका फाउन्डेसन, रमन म्याग्सेसे फाउन्डेसन, नेब्रास्का विश्वविद्यालय र ग्लोबल आइडियाज बैंकले मान्यता दिएका छन् । उनको कामले धेरै युवालाई आफ्नै देश फर्काउन र मुलुकको विकासमा लाग्न प्रेरित गर्ने गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.