
विराटनगर । जापानमा सम्राट् आकिहितोले २ शताब्दीपछि पहिलो पटक स्वेच्छाले गद्दी त्याग गरेका थिए । नेपालमा पनि राजाले विभिन्न कालखण्डमा गद्दी त्याग गरेको इतिहास भेटिन्छ । आधुनिक नेपालमा २४० वर्ष शासन गरेको शाहवंशमा पनि राजाले गद्दी त्यागेका ३ वटा घटना छन् ।
रणबहादुर शाह (सन् १७७५–१८०६)
रणबहादुर शाह आधुनिक नेपालका संस्थापक पृथ्वीनारायण शाहका नाति हुन् । बुवा प्रतापसिंह शाहको अल्पायुमै मृत्यु भएपछि रणबहादुर शाह बाल्यकालमै राजा भए ।
उनलाई राजकाजमा सघाइरहेका काका बहादुर शाहले नेपालको एकीकरण पूरा गरेपछि १८ वर्षमै राजा रणबहादुर शाहसँग सम्पूर्ण अधिकार आइपरेको थियो । रणबहादुरलाई स्त्रीहरूप्रति विशेष लगाव थियो । उनका ७–८ वटी प्रेमिकाहरू रहेको पाइन्छ ।
त्यस क्रममै सतबिउ छर्न आएकी एक सुन्दरी महिला कान्तवतीमाथि दरबारका कर्मचारीहरूले राजाको आँखा पारिदिए । रणबहादुरले जनकपुरकी ती ब्राह्मण विधवालाई दरबारमा ल्याएर राखेका थिए ।
कान्तवतीले जिद्दी भने अर्कै थियो । उनले भनेकी थिइन्, ‘मैले तपाईँसँग बिहे गरेर दरबारमा कैद भए पनि मेरो जात जान्छ । म त जमिनदारकी छोरी हुँ । म उतै कसैसँग बिहे गरेर स्वच्छन्दतापूर्वक जीवन बिताउनेछु ।’
केही महिना दरबारमा रहेपछि पनि कान्तवती र राजा रणबहादुर दुवैको मन फेरिएन । अन्ततः आजित भइसकेकी कान्तवतीले प्रस्ताव राखिन् – आफूलाई रानी बनाउने र आफ्ना छोरालाई राजगद्दी दिने ।
रानीको इच्छाका आधारमा रणबहादुरले छोरा जन्मिएको १७ महिनामै रानीको आग्रहमा पशुपतिनाथको धर्मशीलालाई छोएर, सात पुस्ता भाक्दै गद्दीत्यागको धर पत्र गराएका थिए ।
आफू भने रानीसहित जोगी हुन भन्दै पशुपतिमा गएर बसे । तर, त्यहाँबाट समेत उनले आफ्नो अधिकारको अभ्यास भने रोकेनन् । तर पुनः शक्तिमा फर्कन उनमा धर्मसंकटको अवस्था थियो ।
राजेन्द्रविक्रम शाह (सन् १८१३–१८८१)
रणबहादुर शाहले खडा गरेको नजिरका आधारमा राजा राजेन्द्रकी कान्छी पत्नीले समेत आफ्ना छोरालाई राजगद्दीको माग गरेपछि नेपालमा सन् १८४६ (१९०३ साल)मा कोतपर्व घटेको थियो ।
राजा राजेन्द्रका दुई वटी रानीहरू थिए । जेठो छोराले गद्दी सम्हाल्ने परम्पराकै आडमा जेठी रानी साम्राज्ञलक्ष्मीदेवीका छोरा सुरेन्द्र युवराज भए पनि कान्छी रानी राज्यलक्ष्मीदेवीले आफ्ना छोरालाई राजा बनाउन खोजिरहेकी थिइन् ।
राजा दुवैका सामु निरीह देखिए । त्यो राजा दशरथले सामना गरेको अवस्थाजस्तो थियो । जेठी रानीको मृत्यु भएपछि भने उनलाई केही सहज भयो ।
उनले कान्छी रानीलाई अधिकार र जेठा छोरालाई युवराजको पदवी दिए । तर अधिकार पाएकी रानीले आफ्नो पुरानै मागमा दरबारभित्र कित्ताकाट गर्न लागिन् ।
त्यसरी दरबारमा सुरु भएको झगडाको आडमा कोतपर्वमार्फत जंगबहादुरको उदय भयो । राजा गद्दी त्याग गरेर काशी जान बाध्य पारिए । त्यसपछि जंगबहादुरले सुरेन्द्रविक्रम शाहलाई राजा बनाए ।
पछि जंगबहादुरलाई मार्न भन्दै राजेन्द्रविक्रम दलबलसाथ आउँदा अलौ पर्व भएको इतिहास छ । त्यसपछि राजेन्द्रविक्रम दरबारमा बन्धक बनाइए ।
ज्ञानेन्द्रविक्रम शाह (सन् १९४७)
शाहवंशका अन्तिम राजा ज्ञानेन्द्रले २०६२/६३ मा भएको जनआन्दोलनबाट पुनर्स्थापित भएको संसद्ले गणतन्त्र घोषणा गरेपछि त्यसलाई स्विकार्दै गद्दी त्याग गरेका थिए ।
२०५८ साल जेठ १९ गते नारायणहिटी राजदरबारमा भएको हत्याकाण्डमा राजा वीरेन्द्रको वंश नाश भएपछि उनका माइला भाइ ज्ञानेन्द्र राजा बन्न पुगेका थिए ।

























