
काठमाडौं । प्रहरीले काठमाडौंको तीनकुनेबाट केही राजावादी प्रदर्शनकारीलाई पक्राउ गरेको छ । राजावादी नेताहरू कार्यक्रमस्थल छाडेर तीनकुनेबाट बाहिरिएका छन् ।
प्रहरीको ब्यारिकेड तोडेर बानेश्वरतर्फ प्रवेश गर्न खोजेपछि उनिहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले जानकारी दिए ।
प्रहरीले पूर्वराजाका समर्थकहरुलाई बानेश्वरतिर जानबाट रोक्न अश्रुग्याँस र लाठी प्रहार गरेको थियो । बानेश्वर प्रवेश गर्न खोज्ने ४ जनालाई पक्राउ गरिएको सुरक्षा अधिकारी बताउँछन् ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनस्र्थापना लागि संयुक्त जनआन्दोलन समिति’लाई स्थानिय प्रशासनले तीनकुनेमा प्रदर्शन गर्न अनुमति दिएको छ ।
तर, प्रदर्शनकारीहरु त्यहाँबाट बानेश्वरतर्फ जान खोजेपछि तनाव उत्पन्न भएको छ । गणतन्त्रका पक्षधर समूहले प्रदर्शनीमार्गमा प्रदर्शन गरिरहेका छन् ।
यसैबिच दुर्गा प्रसाईंको गाडीमा तोडफोड भएको छ ।
राजावादीले प्रदर्शन गरिरहेको स्थान तीनकुनेमा मेडिकल व्यवसायीसमेत रहेका प्रसाईंको गाडी तोडफोड भएको हो । प्रसाईंको बागमती ०२७ च ३६४७ नम्बरको गाडीमा तोडफोड भएको बताइएको छ ।

























