
काठमाडौं । राजावादीको प्रदर्शनस्थलनजिकै रहेको घरमा आगजनी भएको छ । राजावादीको प्रदर्शनस्थल तीनकुनेमा हो ।
राजावादीको प्रदर्शन र सभा बिथोलिएको केहीबेरमा घरमा आगजनी भएको हो । दन्किरहेको आगो नियन्त्रणको प्रयास भइरहेको छ । आगजनी प्रदर्शनकारीले गरेको प्रहरीले जनाएको छ ।
राजावादीले तीनकुनेमा व्यक्तिको घरमा तोडफोड र ढुंगामुडासमेत गरेका थिए । तोडफोड गरिएका घरमाथि बसेर प्रहरीले आश्रुग्यास हानेको थियो । त्यसको केहीबेरमै राजावादी प्रदर्शनकारी तोडफोडमा उत्रिएका हुन् ।
उग्र बनेका राजावादीहरूले व्यक्तिको घरमा आगजनी गरेपछि अवस्था थप तनावपूर्ण बनेको छ । आगजनीबाट घर जलेको छ। राजवादीको प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार गरेपछि आन्दोलनकारी थप आक्रोशित बनेका हुन् । उनीहरूले व्यक्तिका घर, पसलमा ढुंगामुडा प्रहार गर्दै सरकारविरुद्ध नाराबाजी गरिरहेका छन्।
निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरी र आन्दोलनकारीबीच दोहोरो झडप भएको थियो । झडपमा केही प्रहरी र आन्दोलनकारी घाइते भएका छन्।
अहिले तीनकुने क्षेत्र तनावग्रस्त बनेको छ। राजावादी समर्थकहरू कार्यक्रम स्थल छोडेर बाहिर प्रदर्शन गरिरहेका छन्। उनीहरूमाथि प्रहरीले निरन्तर अश्रुग्यास प्रहार गरिरहेको छ। स्थिति नियन्त्रणमा लिन हम्मेहम्मे परिरहेको छ ।

























