
काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार पश्चिमी तथा स्थानीय वायुको प्रभावका कारण आज (शनिबार) बिहान हाल कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा दिउँसो आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।
कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागको १–२ स्थानमा चट्याङसहित हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा राति आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।
कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका १–२ स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । मुलुकका विभिन्न स्थानमा चट्याङसहितको हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेकोले जनजीवन प्रभावित हुनसक्ने सम्भावना छ ।

























