
विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरलगायत आसपासका स्थानमा आज (शनिबार) बिहानैदेखि बाक्लो हुस्सु लागेको छ ।
चैत महिनामा पहिलोपटक हुस्सु लागेको हो । अलि परका वस्तुसमेत देख्न नसकिने गरी हुस्सु लागेको छ । हुस्सुका कारण सवारी दुर्घटना हुनसक्ने जोखिम बढेको छ ।
ट्राफिक प्रहरीले दुर्घटनाको जोखिम बढेकाले सावधानीपूर्वक सवारीसाधन चलाउन चालकहरुलाई आग्रह गरेको छ । हुस्सु एवं कुहिरो लागे पनि वर्षा भने नभएको जल तथा मौसम विज्ञान फिल्ड कार्यालय विराटनगरले जनाएको छ ।
चैत महिनामा के कारणले हुस्सु लागेको हो भनेर यकिन छैन । यद्यपि, मौसम पूर्वानुमान महाशाखाले भने स्थानीय वायुको आंशिक प्रभावका कारण हुस्सु लागेको हुनसक्ने जनाएको छ ।
मौसमविद् सञ्जीव अधिकारीका अनुसार अहिले मुलुकमा कुनै पनि मौसमी प्रणाली सक्रिय छैन । ‘अहिले हुस्सुको सिजन हैन । अब हुस्सु विस्तारै हटेर जाने सिजन हो । ‘वीन्टर’ सिजनबाट हामी ‘प्रि’ मनसुस सिजनमा छौं । ‘प्रि’ मनसुनको सुरुको महिना भएकाले बिहानको समयमा हुस्सु लागेको हुनसक्छ,’ उनले भने, ‘बिहान लागे पनि दिउँसो हट्छ । बिहानको समयमा स्थिर वायुमण्डल रहन्छ । प्रदूषण पनि बढी हुनसक्छ । पानी नपरेकाले प्रदूषणका कारणबाट पनि यस्तो भएको हुनसक्छ ।’
अधिकारीले बिहानको समयमा हुस्सु लागे पनि दिउँसो विस्तारै हट्दै जाने बताए । ‘अहिले हुस्सु लाग्ने सिजन हैन । लागेको हुुस्सु पनि लामो समयसम्म रहँदैन । यो तापक्रम बढ्दै जाने समय हो । अब दिनप्रति दिन तापक्रम बढ्दै गएर गर्मी धेरै हुने देखिन्छ,’ उनले भने । मौसमविद् अधिकारीका अनुसार केही दिनयता मुलुकको तापक्रम निरन्तर बढ्दो क्रममा रहेको छ ।

























