
काठमाडौं । राजवादीले काठमाडौंमा गरेको हिंसात्मक आन्दोलनमा पेस्तोल ताक्ने व्यक्ति सादा पोसाकका प्रहरी भएको पत्ता लागेको छ ।
प्रदर्शनकारीले आक्रमण गर्न थालेपछि उनीहरुलाई तर्साउन पेस्तोल ताकेको पाइएको छ । शुक्रबारको प्रदर्शनमा १ व्यक्ति पेस्तोल लिएरै सडकमै उत्रिएको देखिन्छ । त्यो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
कतिपयले ती व्यक्ति राजावादी भएको अनुमान गरेका थिए । तर, उनी सादा पोसाकका प्रहरी रहेको पत्ता लागेको छ । उनी प्रदर्शनका क्रममा पेस्तोल लिएरै सडकमा निस्किएको भिडियोमा देखिन्छ ।
प्रहरीले सोधीखोजी गर्दा उनी लागुऔषध नियन्त्रण ब्युरोमा कार्यरत सादा पोसाकका प्रहरी भएको पत्ता लागेको छ । प्रदर्शन हिंसात्मक बन्दै जाँदा आन्दोलनकारीहरु तोडफोड र आक्रमणमा उत्रिएका थिए । त्यस क्रममा लागुऔषध नियन्त्रण ब्युरोको गाडी पनि तोडफोड गरियो ।
गाडी तोडफोड हुन थालेपछि ती प्रहरीले पेस्तोल ताक्दै प्रदर्शनकारीलाई डर देखाएका थिए । ‘आफूहरूमाथि नै आक्रमण हुने भएपछि उहाँ (ती प्रहरी)ले पोजिसिन लिएका हुन्। घटनामा हाम्रो गाडी पनि जलाइएको छ,’ प्रहरीका १ उच्च अधिकारीले भने ।

























