
काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई विभिन्न शीर्षकमा जरिबाना गरेको छ ।
राजावादीको प्रदर्शनका क्रममा शुक्रबार तीनकुने क्षेत्रमा पुर्याएको क्षतिको विविरणसहित विभिन्न शीर्षकमा महानगरले जरिबाना तोकेको हो । महानगरले जरिबाना तोकेर निर्मल निवासलाई पत्र काटेको छ ।
महानगरले फोहोरमैला, बोट बिरुवा तथा रेलिङमा क्षति, वारुणयन्त्रमा क्षतिलगायत शीर्षकमा जरिबाना तिर्नुपर्ने पत्र पूर्वराजालाई पठाएको हो । पूर्वराजा ज्ञानेन्द्रलाई ७ लाख ९३ हजार जरिबाना तोकिएको महानगरले जनाएको छ ।
महानगरले काटेको पत्र आइतबार निर्मल निवासमै लगेर बुझाउने तयारी छ । आइतबार कार्यालय समयमा निर्मल निवासमै पुर्याएर जरिबानाका पत्रहरु बुझाइने काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेले बताए ।
महानगरले विभिन्न ९ वटा शीर्षकमा ८ वटा पत्र काट्दै पूर्वराजालाई जरिबाना तोकेको हो । हिंसात्मक प्रदर्शनपछि उत्पन्न परिस्थितिका कारण सञ्चारकर्मीसहित २ जनाको मृत्यु भएको थियो ।

























