
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकका विभिन्न ३ वटा प्रदेशमा आज (आइतबार) वर्षा हुनसक्ने सम्भावना रहेको छ ।
हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायमै छ । कोशी र गण्डकी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको छ।
कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा दिउँसो आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागको केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुनसक्ने सम्भावना छ ।
उच्च पहाडी तथा हिमाली भू–भागका १–२ स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा राति आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।
कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागको १–२ स्थानमा चट्याङसहित हल्का वर्षा तथा कोशी, गण्डकीसहित कर्णाली प्रदेशका उच्च पहाडी एवं हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । महाशाखाका अनुसार वर्षा र हिमपातका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्छ ।

























