
विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिम्मतकुमार कार्कीले काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शन लोकतन्त्रमाथिको प्रहार भएको बताएका छन् ।
विराटनगरमा आज नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशको ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री कार्कीले सञ्चारमाध्यम माथिको आक्रमण र पत्रकारको हत्या सुनियोजित र लोकतन्त्रमाथिको प्रहार भएको बताए ।
उनले पत्रकार महासंघले लोकतान्त्रिक शासन प्रणालीको पक्षमा उठाएको आवाजमा आफू सदैव उभिने प्रतिबद्धता व्यक्त गर्दै व्यवस्थाप्रतिको प्रहार रोक्न र गणतन्त्रको पक्षमा उभिन आग्रह गरे ।
पत्रकारको सुरक्षाका लागि प्रदेश सरकारले केन्द्रीय सरकारसँग समन्वय र पहल गर्ने उनले बताए ।
नेपाल पत्रकार महासंघले पत्रकारहरूको सुरक्षाको माग गर्दै मुख्यमन्त्री कार्कीलाई आज बिहान ज्ञापनपत्र बुझाएको थियो । नेपाल पत्रकार महासङ्घ केन्द्रीय सदस्य कमल रिमाल, कोशीका अध्यक्ष भरत खड्का, जिल्ला अध्यक्ष सुशिला पाठक लगायतका महासंघका पदाधिकारी तथा सदस्यहरूले मुख्यमन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाएका थिए ।

























