
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवलशमशेर जबरा पक्राउ परेको सूचना सभामुख देवराज घिमिरेले संसद्लाई दिएका छन् ।
सोमबार सभामुख घिमिरेले जबरा पक्राउ परेको सूचना सभामा बाचन गरेका हुन् । संसदमा जबरा पक्राउको सूचना पुगेपनि उनलाई छाड्न माग गर्दै राप्रपाले प्रदर्शन गरिरहेको छ । शुक्रबार तीनकुनेमा भएको अपराधीक प्रदर्शनपछि प्रहरीले राप्रपा उपाध्यक्ष रविन्द्र मिश्र र जबरासहित ४१ जनालाई पक्राउ गरी मुद्दा चलाएको थियो । आफ्ना नेता पक्राउको विरोधमा राप्रपा कार्यकर्ताले प्रदर्शन गरेका हुन् ।
संसदमा सभामुखले बाचन गरेको सूचनामा दुर्गा प्रसाईंसमेत भएको राज्यविरुद्धको अपराध सम्बन्धी कसुरमा जबरा पक्राउ परेको उल्लेख छ । जबरा १५ चैतमा पक्राउ परेका थिए ।
राप्रपाको संलग्नता समेतमा १५ चैतमा तीनकुनेमा भएको प्रदर्शनमा संसद् भवन लगायत महत्त्वपूर्ण प्रतिष्ठानहरू कब्जा गर्न जानुपर्छ भन्दै जबराले भीडलाई उत्तेजित बनाएका थिए ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था उल्ट्याउने भनेर आपराधिक बलको प्रयोग गरेको, हुलहुज्जत गरेको, प्रहरीसँग मुडभेड गरेको र निषेधित क्षेत्र तोड्न उत्प्रेरित गरेको आरोप जबरामाथि छ ।
संविधानको धारा १०३ को उपधारा ३ मा सांसद पक्राउको सूचना सभामुखलाई दिनुपर्ने व्यवस्था छ । यसअनुसार प्रहरीले सांसदलाई पक्राउ गरेको सूचना सभामुख र संसद् सचिवालयलाई दिएको हो । सूचना प्राप्त भएपछि प्रतिनिधिसभा नियमावली अनुसार सभामुखले संसद्लाई जानकारी दिनुपर्छ । सोही अनुसार सभामुखले सोमबार जबरा पक्राउ परेको सूचना सभालाई गराएका हुन् ।

























