
काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।
महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आज (शुक्रबार) बिहानैदेखि आंशिक बदली रहेको छ । देशको पहाडी भू–भागमा दिउँसो आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा दिउँसो हल्का हिमपातको सम्भावना छ । कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा राति आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका १–२ स्थानमा राति हल्का हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ । महाशाखाका अनुसार देशका अधिकांश भू–भागहरूमा तापक्रम वृद्धि हुँदै गइरहेको छ ।
तापक्रम वृद्धि हुने क्रम शुक्रबार पनि कायमै रहने जनाइएको छ । वर्षा कम हुने र सुख्खापन बढ्ने महाशाखाले उल्लेख गरेको छ । आगलागीका घटनादेखि वायु प्रदूषणसमेत बढ्ने पूर्वानुमान गरिएको छ ।
मौसम प्रतिकूलताको प्रभाव स्वास्थ्य, दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा पर्नसक्ने हुँदा पूर्वानुमान रहेको महाशाखाले जनाएको हो ।

























