
विराटनगर । स्वरुप परिवर्तन गर्दै ध्वनि प्रदूषण हुने गरी ठूलो आवाज निकालेर चलाएका मोटरसाइलकलाई ट्राफिक प्रहरीले कारबाही थालेको छ ।
पछिल्लो समय युवाहरूले मोटरसाइकलको स्वरुप परिवर्तन गर्दै विभिन्न डिजाइन बनाउने, ध्वनि प्रदूषण हुने गरी साइलेन्सर (धुवाँ निकाल्ने) पाइप परिवर्तन गरी ठूलो आवाज निकाल्ने गरी चलाउने गरेका छन् ।
मोटरसाइकलबाट आएको ठूलो आवाजले सर्वसाधारणलाई असर पुर्याएको र ध्वनि प्रदूषण हुने भएकाले यस्ता सवारीसाधनलाई नियन्त्रणमा लिएर कारबाही थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक राजन लम्सालले जानकारी दिए ।
उनले सडकमा हुने ध्वनि प्रदूषण नियन्त्रणका लागि आजैबाट विशेष अभियानको सुरुवात गर्दै त्यस्ता मोटरसाइकललाई नियन्त्रणमा लिई कारबाही थालिएको बताए ।
वास्तविक स्वरुप परिवर्तन गरेर चलाएका मोटरसाइकललाई कारबाहीको दायरमा ल्याउन थालिएको बताउँदै, ट्राफिक प्रमुख लम्सालले भने, ‘मोटरसाइकललाई विभिन्न स्वरुप बनाउने, साइलेन्सर पाइप परिवर्तन गरेर ठूलो आवाज निकाल्नेलाई कारबाहीको दायरमा ल्याउनका लागि अभियान चलाएका हौं। यो अभियान विराटनगरमा मात्रै नभई मोरङ भर हुनेछ । यस्ता मोटरसाइकलले ठूलो-ठूलो आवाज निकालेर सर्वसाधारणलाई मानसिक तनाव दिने गरेको छ । ठूला आवाजले ध्वनि प्रदूषणसमेत हुने भएकाले यसलाई रोक्नका लागि विशेष अभियान नै चलाएको हो । ’
यसअघि पनि ट्राफिक प्रहरीले यस्ता स्वरुप परिवर्तन गरेर चलाउने गरेका मोटरसाइकललाई नियन्त्रणमा लिएर कारबाही गर्ने गरेको थियो । यसरी स्वरुप परिवर्तन गरेका मोटरसाइकललाई नियन्त्रणमा लिँदै उनीहरु परिवर्तन गरेका वस्तुलाई पहिलेकै जस्तो बनाउन लगाउने र जरिबाना तिराएर मात्रै छाड्ने गरेको ट्राफिक प्रमुख लम्सालले बताए ।
मोटरसाइकलबाट आएको ठूलो आवाजले समस्या भएको सर्वसाधारणले जिल्ला प्रशासन कार्यालयमा गुनासो धेरै गरेको बताउँदै, मोरङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) इन्द्रदेव यादवले भने, ‘मोटरसाइकलको आवाजका कारण हुने ध्वनि प्रदूषणको गुनासो बढ्यो । ट्राफिक प्रहरीलाई निर्देशन दिएर नियन्त्रण अभियान चलाइएको छ । ट्राफिक प्रहरीले अब यसलाई दैनिक कार्यकै रूपमा अगाडि बढाउने छ ।’
अभियानको पहिलो दिन शुक्रबार ट्राफिक प्रहरीले कारबाहीका लागि नियन्त्रणमा लिइएका मोटरसाइकलको अनुगमन सीडीओ यादव र मोरङका प्रहरी प्रमुख एसपी नारायण चिमरियाले गरेका थिए ।
शुक्रबार अभियानको पहिलो दिन विराटनगरबाट ७ वटा मोटरसाइकल नियन्त्रणमा लिएर कारबाही गरिएको ट्राफिक प्रमुख लम्सालले बताए ।























