
काठमाडौं । देशको अधिकांश भागमा आज (आइतबार) मौसम सफा रहेको छ । केही पहाडी क्षेत्रमा आंशिक बदली र हल्का वर्षाको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव कायमै छ । जसका कारण गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगका केही स्थानमा अहिले मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको महाशाखाले उल्लेख गरेको छ । दिउँसोको समयमा पनि यस्तै अवस्था कायम रहने पूर्वानुमान गरिएको छ।
कोशी प्रदेशका केही पहाडी भू–भागमा समेत मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनसक्ने सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।
महाशाखाका अनुसार बाँकी भू–भागमा मौसम सफा रहने अनुमान छ । तराई र मधेशका अधिकांश स्थानमा बिहानदेखि नै घाम लागेको छ। तर, सुख्खा मौसमले कतिपय क्षेत्रमा वायु प्रदूषण र आगलागीको जोखिम बढाइरहेकोले सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।
महाशाखाका अनुसार विशेषगरी तराईका केही भागमा धुलो, धुवाँ र प्रदूषणले स्वास्थ्यमा असर गर्न सक्ने भएकाले सावधानी अपनाउन आवश्यक छ ।

























