
काठमाडौं । काठमाडौंमा राजावादीले गरेको हिंसात्मक प्रदर्शनलाई लिएर अझै पनि अनेक टीकाटिप्पणी भइरहेका छन् । प्रदर्शनपछिको तोडफोड, लुटपाट र अराजक गतिविधिका कारण राजावादीको आन्दोलनलाई आलोचित बनायो ।
राजावादी यस्तै हुन्छन् भन्ने सन्देश प्रवाह भयो । तर, त्यो दिनको प्रदर्शनले देशमा हलचल नै ल्यायो । प्रदर्शनपछि उत्पन्न परिस्थितिले निम्त्याएको अशान्ति बिर्सनलायक छ । जुन घटनामा पत्रकारसहित २ जनाको ज्यान गयो ।
भाटभटेनी सुपर मार्केटमा लुटपाट भयो । व्यक्तिका घरमा आगजानी र तोडफोड गरियो । पार्टी कार्यालय जलाइयो । जुन घटनाले राजावादीले गर्ने भनेको शान्तिपूर्ण आन्दोलनमाथि प्रश्न उठाएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरूले चैत १५ गते गरेको प्रदर्शन अब ‘डिपफेक’ विवादमा पुगेको छ। उक्त दिनको घटनाक्रम, प्रहरीको प्रतिक्रिया र सार्वजनिक भएका दृश्यहरूबीचको अन्तरले घटनालाई थप पेचिलो र अन्योलपूर्ण बनाउँदै लगेको हो ।
तीनकुनेमा राजावादीले गरेको सभा सुरु हुनुअघि राष्ट्रगान बज्दै थियो । राष्ट्रगान बजिरहेका बेला मञ्चमा अश्रुग्यास प्रहार भयो । अश्रुग्यास प्रहार हुन थालेपछि भागदौड मच्चियो । राष्ट्रगानको धुनसँगै मञ्चमा अश्रुग्यास खसेको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो ।
सामाजिक सञ्जालमा सार्वजनिक भएका दृश्यले पनि सुरक्षाकर्मीकै कारण माहोल भड्किएको पुष्टि हुन्छ । जसका कारण प्रहरीको आलोचना भइरहेको छ । घटनाको ५ दिनपछि नेपाल प्रहरीका प्रवक्ता डीआईजी दिनेश आचार्यले पत्रकार सम्मेलन गरेर सामाजिक सञ्जालमा सार्वजनिक भएका दृश्यहरु ‘डिपफेक’ भएको बताएका थिए ।
उनका अनुसार एआई प्रविधिको प्रयोग गरेर गलत भिडियो तयार पार्दै अफवाह फैलाउन खोजियो । ‘राष्ट्रिय गान बज्दाबज्दै अश्रुग्याँस प्रहार गरिएको देखिने भिडिओ बनाइएको छ । जुन यथार्थ होइन,’ डीआईजी आचार्यले भने ।
तर, घटनास्थलमा खटिएका प्रहरीका अधिकृतकै भनाइ डीआईजी आचार्यको दाबीसँग मेल खाँदैन । वस्तुस्थितिले पनि आचार्यको दाबीलाई पुष्टि गर्न सक्दैन । १ जना प्रहरी अधिकृतका अनुसार अश्रुग्यास मञ्चलाई नै लक्षित गरेर हानिएको थियो । ‘प्रदर्शन अराजक बन्दै जान थालेपछि अश्रुग्यास प्रहार गरियो । भिड नियन्त्रण गर्नलाई हानिएको आश्रुग्यास मञ्चमा पुग्यो । जसले सभालाई बिथोल्यो,’ उनले भने ।
प्रहरीले अश्रुग्यास प्रहार गरिसकेपछि भने स्थिति भड्कियो । माहोल बिग्रिएपछि प्रदर्शनकारी आक्रामक बनेर गैरकानुनी हर्कतमा उत्रिए । अश्रुग्यास प्रहार हुँदा राप्रपा नेता रवीन्द्र मिश्र मञ्चमै थिए । अहिले उनी प्रहरी हिरासतमा छन् । हिरासतमा रहेका मिश्रले भनेका छन्, ‘राष्ट्रगान बजिरहेका बेला अश्रुग्यास खसेको थियो ।’
उनले त्यतिबेला नवराज सुवेदीलाई मञ्चबाट झारेर सुरक्षित स्थलमा पुर्याए । त्यसपछि मञ्चमा रहेका राप्रपा महामन्त्री धवलशमशेर जबरा र हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंले पनि मञ्च छाडे । सामाजिक सञ्जालमा उपलब्ध थुप्रै भिडियोबाट नै त्यो सबै पुष्टि हुन्छ ।
प्रदर्शनकारीका अनुसार निजी घरमाथि चढेर प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । अश्रुग्यास प्रहार गरिएको भन्दै आक्रोशित भिडले घरमै आगजनी गरेको थियो । आगोले जलेर घरभित्रै एभीन्यूजका क्यामेरा म्यान सुरेश रजकले ज्यान गुमाएका थिए ।
तर, प्रहरीले भने घरबाट अश्रुग्यास प्रहार नगरिएको दाबी गरिरहेको छ । डीआईजी आचार्यले घरबाट नभइकन मञ्चनजिकैबाट हानिएको अश्रुग्यास मञ्चमा पुगेको दाबी गरे । घटनास्थलको दृश्यले पनि भिड नियन्त्रणका लागि प्रहरीले राम्रोसँग तयारी नगरेको देखाउँथ्यो ।
प्रहरीका अनुसार स्थितिलाई नियन्त्रणमा लिन ७ सय ४६ राउण्ड अश्रुग्यास, ८१ वटा जंगी गोली र पेस्तोलबाट २ राउण्ड गोली प्रहार गरियो । दुर्गा प्रसाईंले दिउँसो १ः२३ बजेतिर सुरक्षाकर्मीको घेरा तोडेपछि प्रदर्शन झन् अनियन्त्रित बनेको निष्कर्ष प्रहरीको छ । प्रहरीका अनुसार दिउँसो २ः४५ बजेतिर पहिलोपटक गोली प्रहार भयो । प्रदर्शनकारीले आगजनी भने २ः२१ बजेतिरै सुरु गरिसकेका थिए ।
घटनाको सुरुवातमै सन्तोष राजावादी र पशुपति खड्काको भूमिकाले परिस्थितिलाई झनै तनावपूर्ण बनाएको प्रहरीको निष्कर्ष छ। यी २ जनाको समूहले बागमती पुल क्षेत्रमा मुठभेडको स्थिति निम्त्याएको थियो । ‘प्रहरीलाई ‘ट्रयाप’मा पारेर इँटा प्रहार गरियो । आक्रमण गरियो । तर, प्रहरीले संयममता अपनायो,’ डीआईजी आचार्य भन्छन् ।
अर्कोतर्फ राष्ट्रगान बजिरहेका बेला अश्रुग्यास प्रहार हुनुले गम्भीर प्रश्न उब्जाएको छ । राष्ट्रगानको सम्मान र संवेदनशीलतामा गम्भीर प्रहार गरिएको कतिपयको तर्क छ । अर्कोतर्फ, प्रहरीले भने जस्तो ‘डिपफेक’ प्रयोग गरेर झुटो आरोप लगाइएको भने अनुसन्धानबाट प्रष्ट हुन्छ । प्रविधिको दुरुपयोग भएको हो कि हैन भनेर प्रहरीले नै अनुसन्धान गरेर पत्ता लगाउन सक्छ ।
तर, प्रहरीको दाबी र भिडियोमा देखिएको एवं प्रत्यक्षदर्शीले भनेका कुराबाट तीनकुने घटनाले अहिले ठूलो अन्योलता सृजना गरेको छ । प्रहरीले ‘डिपफेक’को कुरा गरिरहँदा भिडियो र प्रत्यक्षदर्शीको कुराले भने त्यस्तो देखाउँदैन ।
प्रहरीले घटनाको वास्तविकता ढाकछोप गर्न खोज्दा एकपछि अर्को कमजोरी र गल्तीहरु बाहिर आइरहेको सरोकारवाला बताउँछन् । उनीहरुले घटनाको सत्यतथ्य बाहिर ल्याउनुपर्ने माग गरिरहेका छन् ।

























