कोशीको स्वास्थ्य मन्त्रालयले असुल गर्याे ५३ लाख बेरुजु, करिब १४ करोड नियमित

Share this
663shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत्र २६, मंगलबार २१:४८

विराटनगर । कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले पछिल्लो ६ महिनामा ५३ लाख बेरुजु असुल गरेको छ । १३ करोड ८५ लाख भन्दा बढी बेरुजु फछर्याैट गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार ३९ करोड ४७ लाख ९४ हजार ७९६ रुपैयाँ बेरुजू नियमित गर्नुपर्ने थियो । जसमा १३ करोड ८५ लाख २३ हजार बेरुजु नियमित भएकाे हाे ।

असुल  गर्नु पर्ने २ करोड २३ लाख ३९ हजार दुई सय ७१ रुपैयाँमध्ये ५३ लाख १ हजार १२ रुपैयाँ असुल भएकाे छ । मन्त्रालयले अब १ करोड ७० लाख ३८ हजार २ सय ५९ रुपैयाँ असुल गर्न बाँकी छ । नियमित गर्नु पर्ने बेरुजु २५ करोड ६२ लाख २३ हजार ८६८ रुपैयाँ छ ।

स्वास्थ्य मन्त्रालय अन्तर्गत १४ वटा जिल्ला स्वास्थ्य कार्यालय, १३ वटा जिल्ला अस्पताल, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, आपूर्ति व्यवस्थापन केन्द्र, प्रादेशिक अस्पताल भद्रपुर, मदन भण्डारी ट्रमा सेन्टर, प्रादेशिक आर्युवेद अस्पताल लखनपुर, १४ वटा आर्युवेदिक स्वास्थ्य केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र तालिम केन्द्र धनकुटा छन् ।  त्यसमध्ये जिल्ला स्वास्थ्य कार्यालय पाँचथर, ताप्लेजुङ, धनकुटा, प्रादेशिक आयुर्वेद अस्पताल लखनपुर, आयुर्वेद स्वास्थ्य केन्द्र इलामलगायतले भने बेरुजु घटाउन कुनै प्रगति गरेका छैनन् ।

स्वास्थ्य मन्त्रालयका मन्त्री भुपेन्द्र राईले बाँकी रहेको असुल गर्नुपर्ने बेरुजूलाई असार मसान्तसम्ममा शून्यमा झार्ने बताए ।

मन्त्री राईले सम्हालेकै भौतिक पूर्वाधार विकास मन्त्रालयले असुल गर्नुपर्ने बेरुजुलाई घटाएको छ । आर्थिक वर्ष २०८०–८१ सम्ममा भौतिक पूर्वाधार मन्त्रालय र मातहतका अन्य १२ वटा कार्यालयको असुल गर्नुपर्ने बेरुजू रकम ३६ करोड ५१ लाख ७४ हजार ९४० रुपैयाँ थियो । सो मध्ये १८ करोड ६० लाख ९ हजार ७१७ रुपैयाँ बेरुजु असुल भएको हो ।

मन्त्रालयका अनुसार असुल गर्नुपर्ने बेरुजु सबैभन्दा धेरै पूर्वाधार विकास कार्यालय मोरङ अन्तर्गत थियो । उक्त कार्यालयमा १८ करोड ६२ लाख ९३ हजार २३५ रुपैयाँ थियो । जसमध्ये सो कार्यालयले १६ करोड १६ लाख ९४ हजार रुपैयाँ असुल गरेको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयको नियमित गर्नुपर्ने बेरुजु रकम १ अर्ब ७४ करोड ६० लाख १९ हजार १६६ रुपैयाँ रहेको छ । जसमध्ये २१ करोड २० लाख ३० हजार ६८४ रुपैयाँ नियमित भएको मन्त्री राईले बताए । उनले चालू आर्थिक वर्षको अन्त्यसम्ममा नियमित गर्नुपर्ने बेरुजुलाई १ अर्बले घटाउने लक्ष्य राखेको बताए । यस्तै असुल गर्नुपर्ने बेरुजुलाई शून्यमा झार्ने उनले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×