
विराटनगर । संखुुवासभाको चिचिला गाउँपालिका–४ मा भारतको आसाम प्रान्तबाट आएको कार्बी कुर्फो अमाइले ‘सिंग बामन पो हिम आङ्लङ’को सांस्कृतिक पूजा सम्पन्न गरेको छ ।
वारिथेलाई आफ्नो पुर्खा मान्ने यो समुदाय आदिवासी जनजाति समुदाय हो । उनीहरूले २०७९ मा खाँदबारीमा, २०८० र ०८१ मा चिचिलामा उक्त पूजा आयोजना गरेका हुन् ।
पूजा समारोहमा गाउँपालिका उपप्रमुख मनकला राई, प्रमुख प्रशासकीय अधिकृत सन्तोष राई, वडा नम्बर १ का वडाध्यक्ष पूर्णकुमार राई, सम्बन्धित वडाध्यक्ष बालकुमार तामाङलगायतको उपस्थिति थियो ।
गत वर्ष अन्तर्राष्ट्रिय सांस्कृतिक सम्मेलनमा यस समुदाय १२ वटा सांस्कृतिक झाँकीसहितका भारतबाट ४२ जनाको संख्यामा सहभागी भएका थिए ।
पूजामा कार्बी समुदायको तर्फबाट कान्तो टिसो र नेपालको तर्फबाट ताराबहादुर बुढाथोकी कुरुसार (पूजारी) रहेका थिए ।
टोलीले चिचिलास्थित मत्स्यपोखरीको अवलोकन भ्रमणसमेत गरेको छ । भ्रमण पश्चात गाउँपालिका प्राङ्गणमा सांस्कृतिक आदानप्रदानका साथै सम्मान कार्यक्रम आयोजना भएको थियो ।
दुवैतर्फबाट आफ्ना देशका विशेष वस्तुहरू साटासाट गरेर सम्मान गरे । सम्मानमा नेपालका तर्फबाट चिचिला आमा समूहले सम्मान अर्पण गरेको थिए ।
कार्बी समुदायका अतिथिहरूले पोहोर, चिण्डो र झोला वितरण गरेका थिए । सम्मान कार्यक्रमपछि छलफलमा गाउँपालिकाका वडाध्यक्ष बालकुमार तामाङ र कार्बी कुर्फो अमाइका कार्यबाहक अध्यक्ष लख्खीराम क्रोले संयुक्त रुपमा अध्यक्षता गरेका थिए ।
नेकपा माओवादी केन्द्रका वीरसिंह गुरुङ, नेपाली कांग्रेसका प्रदीप गुरुङ र नेकपा एमालेका तर्फबाट काजीमान गुरुङले कार्बी हेमतुम निर्माण र सिंगवामन पूजामा सकेसम्म सहयोग गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा कार्बी समुदायको तर्फबाट अमृत इङ्ती, सार्थे रङ्पी, वालेश्वर हान्से र लख्खीराम क्रोले आफ्ना विचार राखे । लख्खीराम क्रोले हाम्रो संस्कार संस्कृति एउटै भए पनि भाषा भने भिन्न रहेको चर्चा गरे ।
सामुदायिक वन उपभोक्ता समिति र गाउँपालिकालाई हेमतुम संरचनाका लागि जग्गा निर्णयसहित स्थायी रुपमा उपलब्ध गराइदिन अनुरोधपत्र आदानप्रदान भए ।
गोलमेच छलफलमा सहभागी वक्ताहरूले आफूहरू यसबाट प्रभावित भएको, सदियौंदेखि रहिआएको सम्बन्धलाई यसले पुस्तौँपुस्तासम्म जोडरहने विचार राखे ।























