
सुनसरी । सुनसरीमा १ महिने सिरुवा मेला सुरु भएको छ । सदरमुकाम इनरुवासहित विभिन्न स्थानमा नयाँ वर्ष लागेलगत्तै मेला सुरु हुन्छ ।
सुनसरीका विभिन्न स्थानमा १ महिनासम्म लाग्ने परम्परागत मेलालाई मोरङमा समापन गर्ने प्रचलन छ । इनरुवा नगरपालिका–६ मधेशाबाट मेला सुरु भएको हो ।
मेला सुनसरीका विभिन्न स्थानमा लागेर मोरङमा समापन हुने गरेको इनरुवाका पूर्वप्रमुख ८५ वर्षीय गोपाल कोइरालाको भनाइ छ । उनका अनुसार विक्रम संवत २००७ को क्रान्ति र झोडा फँडानीपछि मेला लाग्न सुरु भएको हो ।
मेला सदरमुकाम इनरुवाको, मधेश, इनरुवा–७ चान्दबेला, इनरुवा–८ गणेशपुर, इनरुवा–१ भगवती मन्दिरसहित रामधुनी नगरपालिकाको पाञ्चायन थान, कोसी–२ पश्चिम कुशाहास्थित सलहेस थानलगायत ठाउँ हुँदै मोरङमा गएर समापन हुने स्थानीय अगुवाहरु बताउँछन् ।
मेला प्रत्येक दिन बिहान ८ बजेदेखि सुरु भएर साँझ अन्त्य गरिने इनरुवा–१ का वडा सदस्य प्रदीप ढकालले बताए । उनका अनुसार विभिन्न ठाउँमा लाग्ने मेला भर्न जिल्लाभित्रका साथै छिमेकी जिल्लाबाट पनि आउने गरेका छन् ।























