विकास गर्ने कुरो जादु जस्तो होइन : उपप्रधानमन्त्री सिंह 

Share this
675shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ३, बुधबार १८:२९

विराटनगर । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री  प्रकाशमान सिंहले विकास गर्ने कुरो जादु देखाए जस्तो नभएको बताएका छन् ।

विकास गर्ने कुरो जादु जस्तो होइन किनभने जादुमा त एउटा छडी घुमाउँदा सबै कुरा  तुरुन्त परिवर्तन गर्न सकिन्छ, बुधबार मोरङको जहदामा उपप्रधानमन्त्री सिंहले पत्रकारहरूसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

उनले एक थरीले व्यवस्था परिवर्तन भयो अवस्था परिवर्तन भएन भनेर गलत भाष्य तयार गर्न खोजिरहेको र कसैसँग पनि विकास गर्ने जादुको छडी नभएको बताए ।

०४६ सालपछि व्यवस्था मात्रै परिवर्तन भएको नभई अवस्थामा पनि परिवर्तन आएको बताउँदै, उपप्रधानमन्त्री सिंहले भने, ‘व्यवस्था परिवर्तन भयो अवस्था परिवर्तन भएन भनेर गलत प्रचार गर्न खोजिरहेका छन् । कुरो के हो सबैले बुझ्नु पर्छ । व्यवस्थासँग सबैको अवस्थामा परिवर्तन भइरहेकै छ । विकास र आर्थिक पक्षका कार्य तीव्र गतिमा सरकारले अघि बढाइरहेको सबै अनुभूति गरिरहनु भएको छ । विकास गर्ने जादुको छडी कसैसँग छैन ।’

कांग्रेस र एमाले मिलेर बनेको सरकारले तीव्र गतिका साथ काम गरिरहेको र आर्थिक सूचकहरू पनि सुधार हुँदै गएको बताउँदै, उपप्रधानमन्त्री सिंहले भने, ‘संविधानसभाबाट बनेको संविधान सडकबाट परिवर्तन हुँदैन । संविधानका प्रावधानहरू संशोधन गर्न २ तिहाइ बहुमतबाट मात्रै सम्भव हुन्छ । त्यसका लागि कार्य दल गठन भइसकेको छ । संविधान संशोधन भन्ने कुरा सहज छैन । संशोधन गर्नका लागि धेरै कुरालाई ध्यान दिनुपर्छ । कार्य दलले सबै दलहरूलाई मिलाएर प्रक्रियामा जान्छ । हामीले संविधान जारी गरेपछि गरेको अनुभव र भएका अफ्ट्यारलाई फुकाउनका लागि सबैले सहयोग गर्न जरुरी छ ।’

कोही व्यक्ति, समूह असन्तुष्ट हुनु स्वाभाविक भए पनि असन्तुष्टिहरूको समाधान विधि र प्रक्रियाबाटै खोज्नुपर्छ । सडकमा अशान्ति मच्चाएर देशलाई राम्रो नगर्ने उनले बताए ।

संविधानको परिधिभित्र बसेर शान्तिपूर्ण रूपमा विचार राख्न पाउने भए पनि शान्तिपूर्ण भन्ने तर, अशान्ति मच्चाउने कामलाई सरकारले नियन्त्रण गर्ने उपप्रधानमन्त्री सिंहले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.