एमाले विराटनगरको अध्यक्षमा उठेका कोइराला र गिरीको यस्तो छ राजनीतिक पृष्ठभूमि

Share this
673shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ३, बुधबार २१:५०

विराटनगर । नेकपा (एमाले) विराटनगर महानगर कमिटीको दोस्रो अधिवेशन चलिरहेको छ । पार्टीको महानगर अध्यक्षमा रोहित कोइराला र बलराम गिरीको उम्मेदवारी दर्ता भएको छ । अध्यक्षमा उनीहरुबीच प्रतिस्पर्धा हुने पक्का भइसकेको छ ।

उम्मेदवारको अन्तिम नामावली प्रकाशनको कार्य आज (बुधबार) सकेर भोलि (बिहीबार) बिहान मतदान गर्ने गरिको कार्यतालिका संशोधन गरिएको निर्वाचन समितिले जनाएको छ । मंगलबार निर्वाचन हुने भनिए पनि विवादका कारण बन्दसत्र स्थगित भएको थियो । बुधबार बन्दसत्र सकिएपछि निर्वाचनको प्रक्रिया अघि बढेको हो ।

एमालेको दोस्रो महानगर अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । नेतृत्वका लागि २ समूह प्यानल नै बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । कोइराला संस्थापन पक्षका उम्मेदवार हुन् भने गिरी इतर (विनोद ढकाल) पक्षका उम्मेदवार हुन् ।

कोइराला समूहबाट उपाध्यक्षमा राम पोखरेल, सचिवमा नवराज काफ्ले र उपसचिवमा प्रेमकला डाँगी र चन्द्रशेखर विश्वासले उम्मेदवारी दिएका छन् । गिरी समूहबाट उपाध्यक्षमा सुवासप्रसाद न्यौपाने, सचिवमा विज्ञान शर्मा चापागाईं, उपसचिवमा हिमा मैनाली पोखरेल, हमित आजादको उम्मेदवारी परेको छ ।

कोइराला लामो समयदेखि सक्रिय राजनीतिमा छन् । उनको राजनीतिबाहेक अरु पेसा छैन । सामाजिक काममा समेत सक्रिय छन् । गिरीले राजनीतिकसँगै मुद्रण (छापाखाना) व्यवसाय गर्दै आएका छन् । उनी पनि राजनीतिसँगै सामाजिक सेवामा सक्रिय छन् ।

कोइरालाले कक्षा ९ मा पढ्दै गर्दा विद्यालय स्तरबाटै राजनीतिक यात्रा सुरु गरेका थिए । राजनीतिक यात्राको सुरुवातमै उनी संगठनको अध्यक्ष भए । कोइरालाका अनुसार विद्यालय स्तरको पढाइ सकिएसँगै २०५५ सालमा विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसबाट पुनः विद्यार्थी राजनीतिमा सक्रिय भए ।

महेन्द्र मोरङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियको सदस्य र सहसचिवमा निर्वाचित हुँदै २ कार्यकाल काम गरेको अनुभव कोइरालासँग छ । उनी क्याम्पसको स्ववियुको सभापतिमा प्रत्यासीसमेत रहे ।

विद्यार्थीबाट युवा राजनीतिमा प्रवेश गरेका कोइरालासँग युवा संघ नेपालको विराटनगर महानगर अध्यक्षदेखि जिल्ला, अञ्चल, प्रदेश हुँदै केन्द्रीय नेतृत्वमा बसेर काम गरेको अनुभव छ । कोइराला खेलकुद क्षेत्रमा पनि सक्रिय छन् ।

हाल नेपाल खेलकुद महासंघको स्थायी कमिटी सदस्य रहेका उनी मोरङ जिल्ला खेलकुद विकास समितिको अध्यक्षसमेत भइसकेका छन् । विद्यार्थी, युवा हुँदै पार्टीको राजनीतिमा वडा तहदेखि नै सक्रिय हुँदै आएका छन् ।

कोइराला ४ कार्यकाल महानगर समिति सदस्य, १ कार्यकाल सचिव र हाल महानगर संगठन कमिटीको अध्यक्षको भूमिकामा छन् । पार्टीले महानगर कमिटीका अध्यक्ष सागर थापालाई कारबाही गरेपछि कोइरालाले अध्यक्षको जिम्मेवारी पाएका हुन् ।

उनी विभिन्न सामाजिक संघसंस्थामा आबद्ध छन् । विराटनगरको जनपथ माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष छन् । विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा उनको अहिले दोस्रो कार्यकाल चलिरहेको छ ।

अध्यक्ष भएपछि विद्यालयको शैक्षिकस्तर सुधार गर्न सक्रिय रहेका कोइरालाको पालामा विद्यार्थी भर्ना संख्या बढ्नुका साथै परीक्षा नतिजामा धेरै सुधार आएको विद्यालयले जनाएको छ । विद्यालयमा विद्यार्थीहरुलाई पढाइका साथै अतिरिक्त क्रियालपमा सहभागी गराउनु पर्छभन्ने अभिप्रायले विभिन्न गतिविधि गराउँदै शैक्षिक वातावरण बनाउन सफल भएको कोइराला बताउँछन् ।

उनले आफू लामो समयदेखि राजनीतिमा सक्रिय रहेका कारण महानगरको अध्यक्ष जित्नेमा ढुक्क छन् । ‘युवाहरुको पक्षमा मैले धेरै काम गरेको छु । राजनीति र समाज सेवाबाहेक अरु केही गर्दिन । मैले छोटो अवधि महानगर संगठन कमिटीको अध्यक्ष भए पनि धेरै काम गरेको छु । पार्टी र संगठनका लागि अहोरात्र खट्छु । सबै प्रतिनिधिले मलाई माया गर्नु हुन्छ । मेरो जितको आधार नै यही हो,’ कोइरालाले भने ।

अध्यक्षका अर्का उम्मेदवार गिरीसँग पनि विद्यार्थी राजनीति गरेको अनुभव छ । लामै राजनीतिक पृष्ठभूमि बोकेका उनी पार्टीको महानगर अध्यक्ष जित्ने गरी तयारीमा जुटेको बताउँछन् । विद्यालयमा पढ्दैदेखि राजनीतिमा सक्रिय रहेका गिरीले २०५२ सालमा पब्लिक माविको प्रारम्भिक कमिटी सदस्यबाट विद्यार्थी राजनीतिक यात्रा सुरु गरेका हुन् ।

पार्टीको संगठन कमिटीमा कोइराला अध्यक्ष र गिरी सचिव थिए । विद्यालयको पढाइ सकिएसँगै कलेजमा पनि राजनीतिक संगठनमा बसेको अनुभव रहेको गिरीले सुनाए । उनी २०५४ सालमा विराटनगरको जनता आदर्श ल क्याम्पसमा अखिलको प्रारम्भिक कमिटी सदस्य बने ।

उनी २०५७ सालमा अनेरास्ववियुको जिल्ला सदस्य, कोशी अञ्चल कमिटी सदस्य हुँदै राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यसमेत भएका थिए । विद्यार्थी राजनीतिपछि उनी पार्टीको विराटनगर महानगर समन्वय कमिटी सदस्य बने । त्यसपछि महानगर सचिवालय सदस्य र आर्थिक विभागको जिम्मेवारी निर्वाह गरेको अनुभव गिरीसँग छ ।

महानगर संगठन कमिटीको सचिव हुँदै गिरी हाल पार्टीको महानगर अध्यक्षको उम्मेदवार बनेका छन् । ‘पार्टीका नेतादेखि कार्यकर्तासम्म मेरो राम्रो सम्बन्ध छ । सबैलाई म समान ढंगको व्यवहार गर्छु । लामो राजनीतिक पृष्ठभूमि पनि छ । सानैदेखि राजनीतिमा लागेर दुःख गरेको मान्छे हुँ । पार्टी र संगठनको हितभन्दा बाहिर गएर कुनै काम गरेको छैन । सबै प्रतिनिधिमाझ परिचित छु । मेरो जितको आधार यही हो,’ गिरीले भने ।

एमालेको महानगर अधिवेशनले ९१ सदस्यीय नयाँ कमिटी निर्वाचित गर्ने छ । अधिवेशनमा ३ सय १४ जना प्रतिनिधिले मतदान गर्न पाउने छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.