
विराटनगर । नेकपा माओवादी केन्द्र विराटनगर महानगर समितिको दोस्रो सम्मेलन वैशाख ७ गते विराटनगरमा हुने भएको छ ।
महानगर समितिले आज (बिहीबार) पत्रकार सम्मेलन गर्दै वैशाख ७ र ८ गते दोस्रो सम्मेलन गर्न लागेको जानकारी गराएको हो ।
महानगरका अध्यक्ष नवीन पौडेलले महानगरको दोस्रो सम्मेलनको उद्घाटन वैशाख ७ र बन्द सत्र ८ गते हुने जानकारी दिए । उनका अनुसार सम्मेलनको उद्घाटन पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहालले गर्ने भएका छन् ।
दोस्रो सम्मेलनका वडा स्तरबाटै प्रतिनिधि छनौट भइसकेको छ । ३ सय ५६ जना प्रतिनिधिले ९९ सदस्यीय नयाँ कार्य समिति चयन गर्ने छ ।
चयन भएका ९९ सदस्यबाट १ जना अध्यक्ष, ३ जना उपाध्यक्ष, १ जना सचिव, १ जना सहसचिव र १ जना कोषाध्यक्ष चयन गर्दै नयाँ समिति बन्ने अध्यक्ष पौडेलले बताए ।
सम्मेलनका लागि ३ सय ५६ जना प्रतिनिधिसहित ३५ जना पर्यवेक्षक, २५ जना स्वयंसेवक छनौट भइसकेका छन् ।
युवा, महिलासहित पूर्ण समावेशी प्रतिनिधित्वसहितको नयाँ कार्य समिति बन्ने अध्यक्ष पौडेलले बताए ।
























