
विराटनगर । सुनसरीको धरानमा मृत फेला परेकी महिलाको हत्या कोरियामा बस्दै आएका पतिको योजनामा भएको पत्ता लागेको छ ।
हत्यामा पारिवारिक नाता सम्बन्धका व्यक्तिहरु संलग्न रहेको सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले बताए । धनकुटाको महालक्ष्मी नगरपालिका–२ घर भएकी ३४ वर्षीया चुनकुमारी दाहाल बुढाथोकीको हत्यामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेर इलाका प्रहरी कार्यालय धरानमा बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा चुनकुमारीकै पति ३१ वर्षीय प्रेमबहादुर बुढाथोकी, प्रेमबहादुरका भाइ (चुनकुमारीका देवर) मोरङको पथरीशनिश्चरे नगरपालिका–३ संगम चोकमा बस्दै आएका २९ वर्षीय ढकेन्द्र बुढाथोकी, ढकेन्द्रकी पत्नी २५ वर्षीया सृष्टि बुढाथोकी, पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ लुमाङदिङ घर भइ विगत ७ वर्षदेखि मोरङको उर्लाबारी नगरपालिका–५ फागु टोलमा बस्दै आएका ३६ वर्षीय योगेन्द्र गौतम, योगेन्द्रकी पत्नी २८ वर्षीया डेनु गौतम र मोरङको पथरीशनिश्चरे–३ का ४० वर्षीय केशवराज दाहाल रहेका छन् ।
पक्राउ पर्नेमध्ये योगेन्द्र गौतम प्रेमबहादुरका कान्छा ज्वाइँ र डेनु गौतम बहिनी हुन् । हत्यामा संलग्नमध्ये भारतीय नागरिक ३५ वर्षीय राजु थापामगर फरार छन् । भारत आसाम फोकन बस्तीका उनी सृष्टिको फुपूका छोरा हुन् । राजुको खोजी जारी राखिएको प्रहरीले जनाएको छ ।
‘ढकेन्द्र, सृष्टि, डेनु र केशवराजलाई घर ठेगानाबाटै गत चैत २९ गते पक्राउ गरिएको हो,’ एसपी तिम्सिना भन्छन्, ‘योगेन्द्रलाई नेपाल–भारत सीमा क्षेत्र झापाको काँकडभिट्टाबाट चैत ३० गते पक्राउ गरियो ।’ उनका अनुसार सुरुमा टाउकोलगायत शरीरका विभिन्न भागमा प्रहार गरेपछि अन्तिममा रुखको आड लगाएर घाँटी कसेर चुनकुमारीको हत्या गरेको पाइएको छ ।
हत्यामा चुनकुमारीका देवर ढकेन्द्र बुढाथोकी, नन्देभाइ योगेन्द्र गौतम र भारतीय नागरिक राजु थापामागरको प्रत्यक्ष संलग्नता रहेको प्रहरीले जनाएको छ । अरुले हत्याको योजना बनाउन, हत्यापछि घटना ढाकछोप गर्न र हत्यामा संलग्नलाई भगाउन भूमिका खेलेको एसपी तिम्सिनाले बताए ।
उनले भने, ‘योजना बनाउने, हत्या गर्ने र घटना लुकाउन भूमिका खेल्नेहरु चुनकुमारीका देवर, देउरानी, नन्देभाइ, नन्दसमेतका आफन्त छन् । मुख्य योजनाकार चैं आफ्नै पति प्रेमबहादुर हुन् ।’ एसपी तिम्सिनाका अनुसार प्रेमबहादुर वैदेशिक रोजगारीका लागि कोरिया गएका थिए । कोरियाबाट आएर उनी करिब ३ महिना अघि पुनः उतै फर्किएर गएका हुन् । चुनकुमारीको हत्याको मुख्य योजनाकार उनी नै रहेको तिम्सिनाले बताए ।
‘प्रेमबहादुरकै मुख्य योजना र निर्देशनमा पारिवारिक नाता सम्बन्धका व्यक्तिहरुले चुनकुमारीलाई मारेको हालसम्मको अनुसन्धानबाट पत्ता लाग्यो,’ उनी भन्छन् । परिवारसँग समन्वय गरी कोरियाबाट नेपाल झिकाएर उनलाई प्रहरीले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरी सुनसरी ल्याएको छ ।
प्रहरीका अनुसार धनकुटाको महालक्ष्मी नगरपालिका–१ माइती भएकी चुनकुमारी र प्रेमबहादुरबीच करिब १५ वर्षअघि बिहे भएको थियो । पतिसँग चुनकुमारीको सम्बन्ध विगतदेखि नै राम्रो नरहेको प्रहरीले जनाएको छ । एसपी तिम्सिनाका अनुसार प्रेमबहादुरले सधैं पत्नीलाई शंकाको दृष्टिले हेर्दा रहेछन् ।
‘पत्नी परपुरुषसँग लागेको भनेर शंकाको दृष्टिले हेर्ने गरेको पाइयो । बारम्बार ‘डिभोर्स’समेत मागेका रहेछन् । तर, चुनकुमारीले ‘डिभोर्स’ दिन मानिनन् । पछि परिवारका सदस्य र नाता सम्बन्धका व्यक्तिहरुले मिलेमतोमा योजनाबद्ध ढंगले हत्या गरिदिए । यो घटना शंकाको भयानक दुष्परिणाम हो,’ उनले भने । अर्कोतर्फ प्रेमबहादुरले ज्वाइँ योगेन्द्रलाई आर्थिक प्रलोभन देखाएर भारतमा भएका आफन्तसमेत झिकाएर हत्या गर्न लगाएको पाइएको तिम्सिना बताउँछन् ।
अहिलेसम्मको अनुसन्धानबाट पति–पत्नीबीचको मनमुटावका कारण चुनकुमारीको हत्या गरेको खुलेको उनले बताए । प्रहरीका अनुसार पतिसँग सम्बन्ध राम्रो नभएपछि चुनकुमारी पछिल्लो २ वर्षयता १३ वर्षीय छोरासहित सुनसरीको इटहरी उपमहानगरपालिका–२ हलगडामा डेरा बस्दै आएको खुलेको छ ।
धरान उपमहानगरपालिका–६ स्थित पाँचकन्या सामुदायिक वनमा हत्या गरेर फालेको अर्धनग्न अवस्थामा चैत २५ गते दिउँसो १२ः३० बजेतिर उनको शव फेला परेको थियो । कम्मरदेखि तलको कपडा खोलिएको र घाँटीमा झोलाको फित्ताले बाँधी रुखमा अडेसा लगाएर छाडिएको शव देखेपछि गाई वस्तु चराउन गएकाले प्रहरीलाई खबर गरेका थिए ।
त्यसलगत्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका फरेन्सिक डाक्टर डा. विकाश साहसहित प्रहरी टोली घटनास्थल पुगेको थियो । तालिम प्राप्त कुकुरको समेत सहयोग लिएर घटनाको अनुसन्धान थालेको विशेषज्ञसहितको प्रहरी टोलीले अन्ततः हत्यामा संलग्नलाई पक्राउ गरेको छ ।
चुनकुमारीको सनाखत भाइ लीलबहादुर दाहालले गरिदिएका थिए । प्रहरीले हत्याका बेला प्रयोग गरिएका ३ वटा मोटरसाइकल पनि बरामद गरेको छ । प्रदेश १–०२–०४३ प ६८६२, मधेश प्रदेश ०३–०२६ प ७१४४ र प्रदेश १–०२–००४४ प १०५९ नम्बरको मोटरसाइकल बरामद गरिएको एसपी तिम्सिनाले बताए ।
उनका अनुसार चुनकुमारीले नन्देभाइ योगेन्द्र गौतमलाई अलि बढी विश्वास गर्ने गरेको पाइयो । ‘योगेन्द्रले धरान बोलाएपछि उनी गइछन् । त्यहाँ अरु तयारी अवस्थामा बसेका थिए । सबै मिलेर मारिसकेपछि जंगलमा शव फालेर भागेछन्,’ तिम्सिनाले भने ।
हत्यामा संलग्नविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन प्रहरीले बिहीबार नै म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाएको छ । घटनासँग जोडिएका कुनै विषय भए अनुसन्धानपछि पत्ता लाग्ने प्रहरीको भनाइ छ ।
चुनकुमारीको हत्यामा संलग्न ६ जना पक्राउ, धरानमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिँदै


















