चुनकुमारीको हत्यामा संलग्न ६ जना पक्राउ, धरानमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिँदै

Share this
735shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ४, बिहीबार १६:३९

विराटनगर । धनकुटाको महालक्ष्मी नगरपालिका–२ की ३४ वर्षीया चुनकुमारी दाहाल बुढाथोकीको हत्यामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी स्रोतका अनुसार हत्यामा संलग्न ४ पुरुष र २ जना महिलालाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरु चुनकुमारीकै पारिवारिक नाता सम्बन्धका व्यक्तिहरु रहेको प्रहरीले जनाएको छ ।

हत्यामा संलग्न देवर, देउरानी, नन्दलगायतलाई पक्राउ गरिएको प्रहरी स्रोतले बतायो । काठमाडौंलगायत विभिन्न स्थानबाट पक्राउ गरेर ल्याइएका विरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन आज (बिहीबार) म्याद थप गरेर अनुसन्धानको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पारिवारिक विवादका कारण चुनकुमारीको हत्या भएको पत्ता लागेको छ । पक्राउ परेकाहरुको नाम प्रहरीले खुलाएको छैन । हत्यामा संलग्नलाई इलाका प्रहरी कार्यालय धरानमा अहिले केहीबेरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी प्रहरीले गरेको छ ।

सुनसरीको उपमहानगरपालिका–६ स्थित पाँचकन्या सामुदायिक वनमा चैत २५ गते अर्धनग्न अवस्थामा चुनकुमारी मृत फेला परेकी थिइन् । पछि मात्रै उनको पहिचान खुलेको हो । परिवारभित्रकै सदस्यको मिलेमतो र संलग्नतामा हत्या गरेपछि शव फालेको पाइएको प्रहरीले जनाएको छ ।

पछिल्लो २ वर्षयता चुनकुमारी १३ वर्षीय छोरासँग इटहरी उपमहानगरपालिका–२ हलगडामा डेरा बस्दै आएको प्रहरीको भनाइ छ । मृतकका पति प्रेमबहादुर बुढाथोकी वैदेशिक रोजगारीका लागि कोरियामा छन् । कोरियाबाट आएर उनी करिब ३ महिना अघि पुनः कोरिया नै फर्किएका थिए । प्रहरीका अनुसार पतिसँग चुनकुमारीको सम्बन्ध राम्रो थिएन ।

चुनकुमारीको हत्यामा श्रीमानसँगको खटपट पनि कारण देखिएको प्रहरी स्रोतले बतायो । चुनकुमारी र प्रेमबहादुरबीच करिब १५ वर्षअघि विवाह भएको थियो । उनीहरुका १३ वर्षीय छोरा छन् । पत्रकार सम्मेलन गरेर घटनाको विस्तृत विवरण सार्वजनिक गर्ने प्रहरीको तयारी छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.