
विराटनगर । नेकपा (एमाले) विराटनगर महानगर कमिटीको दोश्रो अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको आज (शनिबार) शपथग्रहण सम्पन्न भएको छ ।
विराटननगरस्थित एमाले मोरङको पार्टी कार्यालय पाञ्चालीमा आयोजित कार्यक्रममा नवनिर्वाचित कमिटीको शपथग्रहण गराइएको हो । शपथग्रहण कार्यक्रममा एमाले महानगर कमिटीका नवनिर्वाचित अध्यक्ष बलराज गिरी (नवीन)ले महानगर कमिटी एक ढिक्का भएर अघि बढ्ने बताए ।
निर्वाचनमा प्रतिष्पर्धा भएपनि सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता उनले जनाएका छन् । महानगर कमिटीका निवर्तमान अध्यक्ष रोहित कोइरालासँग पनि सल्लाह गरेर मात्रै आफू अघि बढ्ने उनको प्रतिबद्धता छ ।
उनले पार्टीलाई गतिशील बनाउन कोइरालालाई सँगै लिएर अघि बढ्ने बताए । निर्वाचनमा संस्थापन र इतरपक्ष भन्दै गरिएको प्रचारप्रति उनले आपत्ति जनाएका छन् । ‘म पनि केपी ओली पक्षकै उम्मेदवार हुँ । रोहित कोइराला पनि केपी ओली पक्षकै हो । अनि कसरी कोही संस्थापन र कोही इतर पक्ष भयो ? पार्टीमा इतरपक्ष कोही छैन । सबै संस्थापन हो,’ गिरीले भने ।
शपथग्रहण समारोहमा एमाले केन्द्रीय सदस्य जीवन घिमिरे, रामलाल साह, मोरङ सचिव सोमराज थापा, महानगर इन्चार्ज पर्शुराम बस्नेतलगायतका नेताहरुले नवनिर्वाचितहरुलाई बधाई तथा शुभकामना दिएका छन् । एमाले विराटनगरको दोस्रो अधिवेशन वैशाख २ गतेबाट सुरु भएको थियो ।
अन्तिम मतपरिणाम घोषणा गर्दै अधिवेशन शुक्रबार बिहानका राति सम्पन्न भएको हो । अधिवेशनबाट अध्यक्षमा बलराम गिरी (नवीन), उपाध्यक्षमा सुरज न्यौपाने (सुवास), सचिवमा विज्ञान चापागाईं, उपसचिवमा हमिद आजाद र हिमा मैनाली पोखरेलसहित ९१ सदस्यीय महानगर कमिटी निर्वाचित भएको छ ।

























