
काठमाडौं । आफूलाई राजावादी दल भन्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज (आइतबार) काठमाडौंमा प्रदर्शनको तयारी गरेको छ ।
निषेधित क्षेत्र तोड्ने गरी दिउँसो १२ बजेबाट प्रदर्शनको तयारी राप्रपाले गरेको हो । गत साता सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रदर्शन गर्ने निर्णय लिएको थियो ।
राप्रपाले निषेधित क्षेत्र तोड्दै प्रदर्शनको तयारी गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदर्शनस्थल वरपर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
गत चैत १५ गते हिंसात्मक प्रदर्शनपछि राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवल शम्शेर राणालगायतलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरूको रिहाइको मागसहित बिजुली बजार क्षेत्रमा प्रदर्शन गर्न लागिएको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
प्रदर्शनमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन पनि सहभागी हुने भएका छन् । निषेधित क्षेत्र तोडेर प्रदर्शन गरे कारबाही गर्ने चेतावनी गृह मन्त्रालयले दिएको छ । मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै निषेधित क्षेत्र संविधान र कानुन उल्लंघन गर्ने कुनै पनि गतिविधि सैहृय नहुने स्पष्ट पारेको हो ।
‘संविधान र कानुनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सहृय नहुने र यस्तो गतिविधिमा संलग्न हुने जोसुकैलाई कानुनबमोजिम कारबाही हुने व्यहोरा सूचित गरिन्छ । समाजमा हिंसा फैलाउने कुनै पनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुनसमेत अनुरोध गरिन्छ,’ मन्त्रालयले भनेको छ ।
























